जनता टाइम्स

१२ श्रावण २०७८, मंगलवार २०:१४

एमसिसीबारे अमेरिकी राजदूतलाई यस्तो छ अर्थमन्त्री जनार्दन शर्माको जवाफ


काठमाडौं, साउन १२ । अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग एमसिसीलाई तदारुकताका साथ पारित गर्न सरकारले बिशेष ध्यान दिने प्रतिवद्धता जनाउनु भएको छ । अर्थ मन्त्रालयमै भेटका लागि आउनुभएका नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीसँगको बार्तामा अर्थमन्त्री शर्माले यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।

‘अर्थमन्त्री शर्माले अमेरिकी सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरूको कार्यान्वयनमा अनुगमन गरी तदारुकता दिन सरकारले ध्यान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ भेटबार्ताारे अर्थ मन्त्रालयले भनेको छ । अमेरिकी राजदूत बेरीले एमसिसीको बिषयमा चासो राखेपछि चाँडो भन्दा चाँडो पारित गराउने प्रतिवद्धतासहित शर्माले यस्तो जवाफ दिनुभएको हो । अघिल्लो सरकारको पालामा शर्मा एमसिसी राष्ट्रघाती भन्दै बिरोधी कित्तामा उभिएर नेतृत्व लिनुभएको थियो ।

यस्तै भेटमा अर्थमन्त्री शर्माले भूकम्पपछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोग अविस्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको छ । अर्थमन्त्री शर्माले कोभिडविरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने विश्वास पनि व्यक्त गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ ।
भेटमा राजदूत बेरीले कोभिडविरुद्धको लडाईंमा अमेरिका नेपालको साथमा रहेको बताउनु भएको थियो ।

विगत ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै बेरीले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको हो । कोभिडविरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको उहाँको भनाई थियो ।