जनता टाइम्स

१९ श्रावण २०७८, मंगलवार १७:२९

बिद्युत प्राधिकरणका एमडीले गरे उर्जामन्त्रीको निर्देशन ठाडै अस्वीकार, दिए कानुनसम्मत कुरा मात्रै मान्ने जवाफ


काठमाडौं, साउन १९ । नेपाल विद्युत प्राधिकरका प्रबन्ध निर्देशक (एमडी) हितेन्द्रदेव शाक्यले उर्जामन्त्री पम्फा भुसालको निर्देशन ठाडै अस्वीकार गर्नुभएको छ । चार बर्ष प्रबन्ध निर्देशक नियुक्त हुनुभएका शाक्यलाई मन्त्री भुसालले राजीनामा दिन निर्देशन दिएपछि उहाँले ठाडै अस्वीकार गर्नुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणमा अघिल्ला एमडी कुलमान घिसिङलाई ल्याउन निर्देशन दिएको भन्दै मन्त्री भुसालले मन्त्रालयमै बोलाएर राजीनामा दिई सहयोग गर्न निर्देशन दिनुभएको थियो । तर प्रबन्ध निर्देशक शाक्यले आफू कानून मान्ने मान्छे भएकोले कानूनअनुसार चल्ने भन्दै राजीनामा नदिने प्रष्ट बटमलाइन सुनाउनु भएको हो । एमडी शाक्यको यो अडानसँगै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शाक्यको राजीनामा माग गरिएको समाचार सार्वजनिक गर्नुभएको थियो ।

‘कार्यसम्पादन राम्रो नभएको भन्दै शाक्यलाई प्रधानमन्त्रीकै अगाडि राखेर ऊर्जामन्त्रीले राजीनामा माग गर्नुभएको थियो,’ स्रोतले जनताटाइम्ससँग भन्यो, ‘तर, उहाँले मलाई चार वर्षका लागि नियुक्त गरिएको हो, राजीनामा दिन्नँ भनेर बाहिरिनु भयो ।’ गत कात्तिक २६ गतेदेखि कायम मुकायम (कामु) प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्नु भएका शाक्यलाई मन्त्रिपरिषद्ले २०७७ माघ २६ २०७८ प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो । शाक्यको कार्यकाल आगमी २०८१ माघ २५ सम्म रहेको छ ।