काठमाडौं, साउन २० । सरकारी वार्ता टोली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएपछि आंशिक रुपमा आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । प्रतिष्ठानको तर्फबाट वार्ता टोलीका संयोजक डा। एसपी रिमालले कालोपट्टी बाँधेर काम गर्ने र इमरजेन्सी, कोभिड वार्ड लगायतमा काम ठप्प पार्ने लगायतका आन्दोलनका कार्यक्रम फिर्ता भएको बताउनुभयो । तर, पदाधिकारीको कार्यकक्षमा लगाइएको ताला र अन्य प्रदर्शन जारी रहने डा. रिमाल बताउनुहुन्छ । ‘वार्ताबाट आंशिक उपलब्धि भयो र हामी काममा फिर्ता हुन तयार भयौं,’ डा. रिमालले भन्नुभयो ‘तर हाम्रा आन्दोलनका अन्य कार्यक्रम भने जारी रहन्छन् ।’ उच्चस्तरीय समितिको प्रतिवेदन हुबहु कार्यान्वयन गर्नुपर्ने माग आन्दोलनरत पक्षले गरेको छ ।
प्रतिष्ठान शुद्धीकरणका लागि भन्दै त्यहाँ ५१ दिनदेखि आन्दोलन जारी छ । मंगलबार भएको वार्तामा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिबीच ६ बुँदामा सहमति भएको छ ।प्रतिष्ठानका सम्बन्धमा बनेका प्रतिवेदनहरु सार्वजनिक गरी कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयमा एक महाशाखामा आजै तोक्ने, प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्थाको प्रक्रिया शुरु गर्ने, प्रतिष्ठानमा भएका अनियमितताका विषयमा छानविन गर्न अब बस्ने सन्चालक परिषदले संघर्ष समितिको प्रतिनिधित्व हुने गरी अधिकार सम्पन्न उच्चस्तरीय आयोग बनाउने र संघर्षका कार्यक्रमलाई हाललाई स्थगित गरी प्रतिष्ठानबाट प्रदान गरिने सेवा सुचारु गर्ने सहमति भएको छ । सहमति पत्रमा स्वास्थ्य मन्त्रालयको तर्फबाट मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल र संघर्ष समितिको तर्फबाट डा. एसपी रिमाल लगायतले हस्ताक्षर गर्नुभएको छ ।















प्रतिक्रिया दिनुहोस्