काठमाडौं, साउन २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रसंशामा बनेका भिडियो सन्देश बन्द गर्न निर्देशन दिएको बताउनुभएको छ । आज बसेको केन्द्रीय समिति बैठकमा नेता धनराज गुरुङले ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने…’ शीर्षकमा बनेका भिडियोका बारेमा प्रश्न उठाएपछि देउवाले बन्द गर्न निर्देशन दिएको बताउनुभएको हो ।
‘जसरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आइ लभ यु बा’ भनियो। बालुवाटारबाट बालकोट जाँदा नारा लगाइयो। त्यस्तो प्रवृत्तिबाट हामी आजित थियौं । सभापतिजी पनि प्रधानमन्त्री बनेपछि भिडियो बनाएर त्यही प्रवृत्ति देखाउन खोजियो,’ गुरुङले भनेका थिए, ‘त्यो काम तुरुन्तै बन्द गर्नुस्, यसरी भजन गाएर सरकार सफल हुँदैन।’
गुरुङको प्रश्नको जवाफ दिँदै कांग्रेस सभापति देउवालेभन्नुभयो, ‘ए बाबा मैले त्यस्ता भिडियो नबनाउन निर्देशन दिइसकेको छु। अब बन्दैनन्, ढुक्क हुनुस् न !’ यसअघि प्रधानमन्त्री देउवाको प्रसंशामा बनाइएका ती भिडियोको चौतर्फी आलोचना भएको थियो। बैठकमा बोल्दै गुरुङले सबै नागरिकलाई व्यवस्थित तरिकाले खोप उपलब्ध गराउन माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सभापतिजीले संसदमा खोप, खोप र खोप भन्नु भएको छ। त्यो लक्ष्य पुरा होस्, व्यवस्थित तरिकाले खोप दिइयोस् ।’ सरकार भ्रष्टाचारविरुद्धको अभियानमा लाग्नुपर्ने उहाँको सुझाव छ । उहाँले थप्नुभयो, ‘मैले बालुवाटारमै भेटेर तपाईलाई भ्रष्टाचारका ठूल्ठूला काण्डको छानबिन गर्न सुझाव दिएको थिएँ, त्यसको पालना गर्नुहोस्। सरकार भ्रष्टाचारविरुद्धको अभियानमा लागोस् ।’














प्रतिक्रिया दिनुहोस्