जनता टाइम्स

३२ श्रावण २०७८, सोमबार ११:५७

सरकारलाई महेश बस्नेतको चुनौती : ओली सरकारले गरेको एकतिहाइ बिकासको काम गरेर देखाऊ


भक्तपुर, साउन ३२ । एमाले नेता महेश बस्नेतले केपी ओली सरकारले गरेको कामको एकतिहाइ काम गरेर देखाउन वर्तमान सरकारलाई चुनौती दिनुभएको छ । सूर्यविनायक नगरपालिकाको महादेव खोलामा निर्माण भएको पुलको आज बिहान उद्घाटन गर्दै बस्नेतले यस्तो चुनौती दिनुभएको हो ।

‘उहाँहरुले एकतिहाइ त के केपी ओलीको सरकारले गरेको एक अंश पनि काम गर्न सक्नुहुन्न’, बस्नेतले भन्नुभयो । बस्नेतले वर्तमान सरकारलाई अघिल्लो सरकारले सुरु गरेको विकासको काममा एउटा इँटा थप्न आग्रह गर्नुभयो । अघिल्लो सरकारले सुरु गरेका विकासका योजना कटौती गरिए घेराबन्दी गरिने चेतावनी पनि दिनुभयो । ‘विकासको विरोध गर्ने नीतिमा तपाईँहरु नजानुस,’ बस्नेतले भन्नुभयो ।

उहाँले जनमत कम्युनिष्टकै पक्षमा भए पनि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको कारण कम्युनिष्ट पार्टीको सरकार ढलेको बताउनुभयो । ‘माधव नेपाल र प्रचण्डलाई चित्त नबुझेको कारणले सरकार ढलेको छ’, उहाँले भन्नुभयो । सरकार ढल्दैमा आत्तिनु पर्ने अवस्था नरहेको बस्नेतको भनाइ छ । सरकारबाट बाहिरिँदा एमालेको सरकारले केही गरेन भन्नेहरुको काम गराई हेर्ने मौका मिलेको बस्नेतको भनाई छ ।