जनता टाइम्स

३ भाद्र २०७८, बिहीबार १७:३०

कर्णालीमा परेन एमाले विभाजनको असर : कांग्रेस नै मुख्य प्रतिस्पर्धी


सुर्खेत, भदौ ३ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको आज बसेको बैठकमा जिल्ला अध्यक्ष तथा प्रदेश कमिटीका सदस्यहरुले पार्टीको पछिल्लो स्थितिबारे रिपोर्टिङ गरेका छन् । पार्टीको पहिलो बैठकमा रुकुम पश्चिम र जुम्लाबाहेक अन्य जिल्लामा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग भएको नेताहरुले रिपोर्टिङ गरेका हुन ।

एमाले दैलेखका जिल्ला अध्यक्ष रवीन्द्रराज शर्माले भन्नुभयो ‘हाम्रो प्रतिस्पर्धी भनेको कांग्रेस नै हो । एमाले विभाजनको असर दैलेखमा शून्य छ’ , ‘एकाध व्यक्तिबाहेक सबै जनता, मतदाता र कार्यकर्ता एमालेमै छन् । उहाँहरुसँग दैलेख एमाले निरन्तर सम्पर्कमा छ ।’ बैठकमा जाजरकोटका अध्यक्ष करवीर शाहीले पनि प्रमुख प्रतिस्पर्धी कांग्रेस नै भएको बताउनुभयो । बैठकमा सहभागी एक नेताका अनुसार जुम्लामा भने आफ्नै दलका कारण एमाले हुनसक्छ ।

बैठकमा एमालेका नेताहरुले पार्टीलाई तलैसम्म पुर्नजागृत गर्दै लैजानुपर्ने र आम कार्यकर्तामाझ कांग्रेस र माओवादीले छरेका भ्रमहरु चिर्दै जानुपर्नेमा जोड दिएका थिए । नेकपा एमाले कर्णाली प्रदेशका ईन्चार्ज यामलाल कंडेलले बैठकमा आउनुपर्ने र ल्याउन कोसिस गरिएका सदस्यहरु आइपुग्ने अवस्था नबनेको बताउनुभयो । उहाँले सबैको पार्टीमा २० वर्ष भन्दा बढी योगदान भएको बताउँदै लामो समय योगदान दिएकालाई पार्टीमा एकतावद्ध हुन आग्रह गर्नुभयो । बैठकले पार्टीमा महत्वपूर्ण योगदान गरेकालाई कमिटीमा मनोनित गरेर अघि बढ्ने निर्णय गरेको छ ।