जनता टाइम्स

३ भाद्र २०७८, बिहीबार २३:१३

माधवलाई दल दर्ताको बाटोबाट फर्किन एमालेका ९ नेताको अपिल, अध्यादेश खारेज गर्न सरकारलाई आग्रह


काठमाडौं, भदौ ३ । नेकपा एमालेका ९ जना नेताले माधव कुमार नेपाललाई गलत बाटोबाट फर्किन भन्दै संयुक्त प्रेस वक्तव्य जारी गर्नुभएको छ । एमाले नछाड्नुभएको माधवकुमार नेपाल समूहका नेताले एमालेमा फर्किन भन्दै नयाँ पार्टी दर्ता प्रक्रिया अघि नबढाउन अपिल जारी गर्नुभएको हो । उहाँहरूले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्नुपर्ने लगायतको विषय राखेर अपिल गर्नुभएको हो ।

अपिल लेख्ने जिम्मा विगतमा पार्टीभित्रको अन्तरद्धन्द्ध अन्त्यका लागि गठन गरिएको विवाद समाधान कार्यदलका सदस्यसमेत रहनुभएको एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले पाउनुभएको थियो ।

उहाँहरूले जारी गर्नुभएको संयुक्त अपिलमा २७ जेठमा भएको १० बुँदे सहमतिको माइन्यूटमा त्यसलाई कसरी अगाडि बढाउने भन्ने उल्लेख गरिएको सोही अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि बढाउनुपर्ने, १४ सांसद माथिको कारबाही फिर्ता हुनुपर्ने र माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको प्रक्रियाबाट पछि हट्नु पर्ने कुरा उल्लेख गरिएको छ । त्यस्तै अपिलमा एमाले विभाजनका लागि ल्याइएको अध्यादेश खारेज गर्न सरकारलाई आग्रह गरिएको छ ।