जनता टाइम्स

६ भाद्र २०७८, आईतवार १९:५९

माधव समुहको हैसियतबारे संसद सचिवालयसँग माग्यो निर्वाचन आयोगले जवाफ


काठमाडौं, भदौ ६ । निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीसँग रहेका सांसदको एकिन बिवरण माग्दै संघीय संसद् सचिवालयलाई पत्र पठाएको छ । आयोगले माधव समुहसँग कति प्रतिशत सांसद छन् ? भनेर संसद सचिवालयलाई पत्र पठाएको हो ।

आयोगले प्रस्तावित पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग नेकपा (एमाले) का २० प्रतिशत सांसद भए/नभएको जानकारी दिन शुक्रबार संसद् सचिवालयलाई पत्र पठाउने निर्णय गरेको थियो । आयोगले दल दर्ताका लागि आएका सबै सांसदहरूको नामावलीसमेत संसद् सचिवालयमा पठाएको छ ।

एमालेले माधवसहितका १४ जनालाई कारबाही गरेर सांसदबाट पदमुक्त गर्न पत्र संसद सचिवालयमा दर्ता गराइसकेको छ भने आयोगमा समेत पठाएको छ । १४ सांसदलाई पदमुक्त गर्न एमाले सांसदहरुले दवाव दिइरहे पनि सभामुख अग्नि सापकोटा कानून भन्दा माथि रहेको भान गर्दै कार्वाहीको सूचना टाँस गरिरहनु भएको छैन ।

संसद् सचिवालयले प्रस्तावित पार्टीका सांसदहरू पदमुक्त भएको जानकारी गराए आयोगले केन्द्रीय समितिको २० प्रतिशतबाट दल दर्ता गराउने तयारी गरेको छ । आयोगले दल दर्ताअघि सनाखतका लागि सवै केन्द्रीय सदस्य र सांसदहरुलाई यही भदौ ९ गते बोलाएको छ ।