जनता टाइम्स

३ असार २०७६, मंगलवार ११:१९

जनतालाई गरिएका बाचा कसैले बिर्सन हुँदैन : अध्यक्ष दाहाल


काठमाडौं, असार ३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताका क्रममा गरिएका सैद्धान्तिक तथा राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्ने बताउनुभएको छ । शहीद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले पार्टी कार्यालय, धूम्रबाराहीमा आयोजना गरेको स्मृतिसभामा अध्यक्ष प्रचण्डले पार्टी एकताका क्रममा गरिएको सहमतिलाई इमान्दारीपूर्वका कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर विचार, राजनीति र कार्यनीतिलाई अझ विकसित र परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पार्टी एकतालाई सुदृढ गर्ने र बाँकी रहेका कामलाई टुङ्ग्याउने तथा भएका सहमति, समझदारीमा इमान्दारीसाथ उभिनुपर्छ । स्पष्ट मान्यता र सिद्धान्त अनुसार पार्टी एकता गरिएको हो । नेपाली जनताका अगाडि गरिएका बाचा कबोल हामी कसैले पनि बिर्सन हुँदैन । यसबाट कसैले दायाँबायाँ गर्न खोज्यो भने त्यो नेपाल राष्ट्र र नेपाली जनताप्रति घात हुनेछ ।’

उहाँले माक्र्सवादको निर्देशन र पथप्रदर्शनमा समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्यले दुई पार्टीबीच एकता भएको उल्लेख गर्नुहुँदै ठूला पार्टीबीचको एकताका क्रममा केही जटिलता देखिएको भए पनि एकताको मर्मअनुुसार अन्तिम रुप दिइने बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता गरेर ठूलो ऐतिहासिक र आसाधारण कामको शुरुआत गरिएको छ, सिद्धान्तहीन ढङ्गबाट पार्टी एकता गरिएको होइन ।

पार्टीको यस लक्ष्यलाई नबुझेर कतिपयलाई ‘अलमल’ हुनसक्छ । पार्टीले सामूहिक ढङ्गले राजनीतिक प्रतिवेदन तयार पार्दा हिजोका दुबै धारका वरिष्ठ नेताको सर्वसम्मतिमा दुबै पार्टीका उच्च निकायबाट पारित गरेर आगामी बाटो टुङ्ग्याइएको हो ।” पार्टीको राजनीतिक प्रतिवेदनमा नेपाली जनताको परिवर्तनको चाहना पूरा गर्न तत्कालीन अवस्थामा दुई पार्टीले खेलेको भूमिकालाई सकारात्मक ढङ्गबाट मूल्याङ्कन गरिएको उहाँको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “जनताको बहुदलीय जनवादको भूमिका होस् वा एक्काइसौँ शताब्दीको जनवाद तथा माओवादी जनयुद्धले खेलेको सकारात्मक भूमिकाको मूल्याङ्कन गर्दै अगाडि जानका लागि इतिहासका ती अनुभव, नीति, कार्यक्रमलाई परिमार्जन गरिनुपर्छ । यी विषयलाई विकसित गरेर जानुपर्छ भन्ने मान्यतासाथ हामीले पार्टी एकता गरेका हौं ।”

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्न इमान्दार भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । नेकपाका स्थायी समिति सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बर्गीय मुक्तिको पक्षमा सही कदम चाल्न सकियो भने मात्र शहीदप्रति सञ्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।