जनता टाइम्स

३ असार २०७६, मंगलवार ११:५१

छोरी जन्मिए मासिक सय रूपैयाँ


दाङ, असार ३

तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट छोरी, बिहेवारी बीस वर्ष पारि’ भन्ने कार्यक्रम ल्याएको छ । नगरप्रमुख घनश्याम पाण्डेले आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममार्फत सो कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।

अब आर्थिक वर्षदेखि जन्मिएका हरेक छोरीलाई ‘स्मार्ट छोरी’ कार्यक्रमअन्तर्गत प्रत्येक छोरीलाई जन्मेदेखि मासिक रु १०० का दरले वार्षिक रूपमा एकमुष्ट रु एक हजार २०० उपलब्ध गराउने नगरप्रमुख पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरुलाई दिइएको पैसा बैंक खातामा जम्मा गरेर २० वर्ष पुगेपछि एकमुष्टरूपमा उपलब्ध गराइने छ । यदि कसैले २० वर्ष नपुग्दै अगाडि विवाह गरे भने सो रकम उपमहानगरपालिकाको कोषमा फिर्ता हुने उपमहानगरपालिकाको नीति रहेको छ ।

सो कार्यक्रमले बालविवाह न्यूनीकरण गर्ने र छोरीलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने उपमहानगरपालिकाका प्रमुख पाण्डेले बताउनुभयो । यसैबीच उपमहानगरपालिकाले उपमेयर महिला सुरक्षा कार्यक्रम पनि लागू गरेको छ । लैङ्गिक हिंसामा परेका महिलाको उपचार, पुनःस्थापना र सुरक्षाका लागि उपमेयर महिला कार्यक्रम सञ्चालन गरी महिला सुरक्षामा जोड दिने नीति ल्याइएको हो ।

त्यसैगरी उपमहानगरपालिकाले ‘सक्षम महिला, विकासमा पहिला’ अभियानका लागि महिलाको सशक्तीकरण, नेतृत्व विकास उद्यमशीलता र सीप विकास गरी महिलालाई विकास तथा निर्माण, योजना निर्माण, योजना कार्यान्वयन र अनुगमनमा सहभागिता सुनिश्चित गर्ने पनि नीति ल्याएको छ ।

असी वर्षमाथिका ज्येष्ठ नागरिकलाई नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर आगामी वर्षमा उपमहानगरपालिकाभित्र, दाङ र प्रदेश नं ५ का धार्मिक र पर्यटकीयस्थलमा भ्रमण गराउने नीति उपमहानगरपालिकाले पारित गरेको छ ।

दाङको धारापानी, लुम्बीनी, स्वर्गद्वारीजस्ता पर्यटकीय र तीर्थस्थलमा भ्रमण गराउनका लागि आवश्यक बजेट विनियोजन गरिने उपमहानरपालिकाले जनाएको छ ।