जनता टाइम्स

८ भाद्र २०७८, मंगलवार १३:०४

पत्रकारको ज्यान मार्ने धम्कीप्रति महासंघको आपत्ति ( यस्तो थियो घटना)


सुर्खेत, भदौ ८ । समाचार लेखेको भरमा पत्रकारलाई ज्यान मार्ने प्रति नेपाल पत्रकार महासंघले आपत्ती जनाएको छ । कर्णालीका कृषि मन्त्री कुर्मराज शाही विरुद्ध बलात्कारको आरोप लागेको समाचार लेखेकै भरमा पत्रकारलाई फोन र सामाजिक सञ्जालमा धम्की दिएको घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

मन्त्री शाहीका प्रेस सल्लाहकार नन्दकृष्ण अधिकारीले पत्रकारलाई मार्ने धम्की दिनुभएको थियो । नेपाल पत्रकार महासंघ काठमाडौं र शाखा सुर्खेतले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै यस्ता घटनाप्रति आपत्ती जनाएको हो । समाचारप्रति चित्त नबुझे कानूनी बाटोहरुहुँदाहुँदै ज्यानै मार्ने धम्की दिनु गलत भएको महासंघ केन्द्रका महासचिव रोशन पुरी र शाखा सुर्खेतका सचिव ललितबहादुर बुढाद्वारा हस्ताक्षर विज्ञप्तीमा उल्लेख छ । मन्त्रीका प्रेस सल्लाहकार अधिकारीले अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत कालिकोट सम्वाददाता विष्ण न्यौपाने र नागरिक दैनिकका सुर्खेत सम्वाददातालाइ ज्यान मार्ने धम्की दिएको प्रत्रकार महासंघ सुर्खेत शाखाले जनाएको छ ।

यस्तो थियो समाचार

दुई वर्षअगाडि आफ्नै स्वकीय सचिवकी श्रीमतीसँग यौन दुव्र्यहार गरेको भिडियो सार्वजनिक भएको थियो । भिडियोमा पीडित भनिएकी महिला कोठाभित्रै देखिन्छिन् । बाहिरबाट ढोका ढक्ढकाएको आवाज सुनिन्छ ।

महिलाले ढोका खोल्छिन् । भित्र पसेर खाटमा बस्नेबित्तिकै मन्त्री शाहीले उनलाई अँगालोमा बेर्छन् । त्यसपछि महिला रोएको देखिन्छ । मन्त्री शाही महिलालाई सम्झाउन खोजिरहेको अवस्थामा देखिन्छन् ।

आफूलाई मन्त्री शाहीको प्रेस सल्लाहकार बताउने सचिवालयका कर्मचारी नन्दकृष्ण अधिकारीका अनुसार ती महिलाका पति यसअघि शाही सांसद हुँदा स्वकीय सचिव हुनुहुन्थ्यो। ‘मन्त्री भएपछि उहाँले सचिवालयबाट हटाउनुभयो,’ अधिकारीले भने, ‘त्यसपछि मात्रै यो घटना बाहिर आएको हो ।’

हाल घटित घटनालाई भने मन्त्रीले ग्रान्डडिजाइन भन्दै प्रतिकार गरेको उहाँले जानकारी दिनुभयो । मन्त्री भइसकेपछि सचिवालयबाट हटाएको झोकमा यस्तो आरोप लगाइएको उहाँको भनाइ छ । शाही गत वैशाखमा एमाले पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोरक्रस गरेर माओवादीका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएसँगै मन्त्री भएका हुनु भएको थियो ।

मन्त्री शाही पछिल्लो समय सर्वोच्च अदालतको आदेशअनुसार सांसद पदबाट निलम्बनमा पर्नुभएको छ । तर मन्त्री पदमा भने कायम हुनुहुन्छ ।