जनता टाइम्स

९ भाद्र २०७८, बुधबार १८:३६

ओखलढुंगामा माधव समुह यता न उता, यज्ञराजको प्रतिक्षामा माधव समुहका नेता–कार्यकर्ता


ओखलढुंगा, ९ भदौ । नेकपा एमाले विभाजन र एकताको तानातानमा जिल्लाका कार्यकर्ता भने मौन छन । स्थानीय तहका जनप्रतिनिधि पनि नेकपाकालीन गुटको गतिविधिमा विभाजित भए पनि पार्टी विभाजनसम्म पुग्दा सवै मौन देखिएका हुन ।

एमालेको स्थानीय कमिटी बैठकले एकता भएको घोषणा गर्दै पार्टीका कमिटी २ जेठ २०७५ अघि फर्केको बताए पनि जिल्लामा त्यसको प्रभाव परेको छैन । संस्थापन समूहले गाउँ तथा पालिका अधिवेशन घोषणा गरेर केन्द्रको निर्णय नमान्ने सन्देश दिएको छ । केन्द्रको भन्दा एक महिनाअघि नै संस्थापन समूहले अधिवेशन घोषणा गरेको हो । ३ असोजमा वडा तथा ९ असोजमा पालिका अधिवेशन तोकेर समानान्तर गतिविधि त्यागेर पार्टीमा फर्किन आग्रह गरेको छ ।

उता माधव नेपाल समूहमा रहेको समानान्तर कमिटीले विस्तारित बैठक आयोजना गरेर एकता र आगामी रणनीति तय गर्न ५ सदस्यीय कमिटी निर्माण गरेको छ । जिल्लाका निर्वाचित सचिव र अध्यक्ष संस्थापन समूहमा लागेका छन भने उपाध्यक्ष र उपसचिवसहित बहुमत सदस्य तत्कालीन माधव समूहमा थिए । जनप्रतिनिधि पनि विभाजित थिए । एमालेको तेस्रो धारले १० बुँदे सम्झौता गरेपछि जिल्लाका कमिटी पनि सोहीअनुसार चल्नुपर्ने मान्यता संस्थापनको छ ।

जिल्लामा माधव समूहमा लागेका नेता कार्यकर्ता भने यस क्षेत्रका संघीय सांसद तथा केन्द्रीय सदस्य यज्ञराज सुनुवारको बाटो हेरेर बसेका छन् । सुनुवार मााधव समूहमा थिए । पछिल्लो पटक एकता अभियानमा सक्रिय रहेकाले कार्यकर्ता उत्साहित भए पनि संस्थापनको गतिविधिले उनीहरु मौन छन् । सो समूहका विद्यार्थी नेता निशान श्रेष्ठले भन्नुभयो, ‘जिल्लाको एउटा भाडाको कोठामा रहेको पार्टी पाँच वर्षमा टोलवस्तीमा पुर्याएर चुनाव जित्ने नेता (यज्ञराज) हुन्, उहाँको भूमिकाबिना पार्टी अधुरो हुन्छ ।’ एमालेको राजनीतिमा सांसद सुनुवार मूल पात्र हुनुहुन्छ ओखलढुंगामा । उहाँ जता त्यतै नेता कार्यकर्ता बढी हुन्छन् । सुनुवार माधव समूहमा लागेर एकता अभियानमा खटिएपछि क्रेज झनै बढेको छ ।

सुनुवारले एकता अभियान चलाएपछि जिल्लामा विभाजनको असर निकै कम परेको छ । यसअघिको माधव नेपाल समूहको कमिटी नयाँ पार्टीमा पनि गएको छैन र एकताको विधि केहो र कसरी अघि बढ्ने भनेर कार्यदलमार्फत निर्णय गर्ने तहमा छन् । यो समूहमा जिल्ला उपाध्यक्ष, उपसचिवसहित आधा जिल्ला कमिटी छ । मोलुङ गाउँपालिका अध्यक्ष, चिशंखुगढीका उपाध्यक्ष, लगायत वडाध्यक्ष सामेल छन । प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्बीर बाबु गुरुङ, सिद्धिचरण नगरपालिका र लिखु गाउँपालिकाका प्रमुख र उपप्रमुख संस्थापनमै हुनुहुन्छ । जिल्ला अध्यक्ष र सचिव पनि संस्थापनमै खुलेका छन् । जिल्लाको परिस्थितिले माधव समूह रनभूल्लमा परेको छ ।