जनता टाइम्स

१० भाद्र २०७८, बिहीबार ०९:४०

मन्त्री नपाए साथ छाडने धम्कीले तनावमा माधव नेपाल


काठमाडौँ, १० भदौ । एमालेबाट चोइटिएर नेकपा (एकिकृत समाजवादी) दर्ता गरेका नेताहरूले बुधबार आयोग पुगी सनाखत गरेपछि माधव नेपाल नेतृत्वको दलले मान्यता पाएको छ । आयोगबाट मान्यता पाएसँगै माधव समुह शुक्रबारसम्म प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । नेपालले आफ्नो तर्फबाट कम्तीमा पाँच मन्त्री र एक राज्यमन्त्री पठाउने तयारी अघि बढाउनु भएको छ । तर मन्त्री छनोटले माधवलाई निकै ठूलो सकस परेको छ ।

मन्त्री बन्न हानथाप आयोगबाट भर्खरै मान्यता पाएको एकिकृत समाजवादीलाई सरकारमा सहभागी बाटो खुलेसँगै मन्त्रीका लागि नेताहरूबीच हानथाप सुरू भएको छ। दर्जनौँ सांसदहरू बालुवाटारदेखि कोटेश्वरसम्म धाउन थालेको महिनौँ बितिसक्यो। तर सरकारमा सहभागी मन्त्रीहरूको नाम अहिलेसम्म टुङ्गो छैन। नयाँ पार्टीले मान्यता पाएसँगै बिरोध खतिवडा, कल्याणी खड्का, मेटमणी चौधरी, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, हिराचन्द्र केसी, कल्याणी खडका, जीवनराम श्रेष्ठ, निरादेवी जैरु, तुल्सी थापा र खिमलाल देवकोटासहित थ्रुपै नेताहरू मन्त्रीका तीव्र आकांक्षी छन्। मन्त्रीको संख्या सानो र आकांक्षी धेरै हुँदा नामै टुङ्गो लगाउन सकस परिरहेको अध्यक्ष नेपालले गुनासो पोख्नुभएको छ ।

एमाले छाडी माधव नेपालकहाँ पुगेका कतिपय नेताहरू मन्त्रीकै लागि भागदौड गरिरहेका छन्। लामो समयदेखि नेपाललाई साथ दिइरहेका बिरोध खतिवडा, बेदुराम भुसाल, कल्याणी खड्का, मेटमणी चौधरी र रामकुमारी झाँक्रीलाई मन्त्री बनाउनैपर्ने दबाब रहेको छ। ती नेता भन्छन्, ‘कतिपय साथीहरू मन्त्री पाउनैका लागि यहाँ आउनुभएको छ। उहाँहरू मन्त्रीको भोकमा हुनुहुन्छ। हिजो त्तकालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई साथ दिएका कमरेडहरूको एउटै उदेश्य मन्त्री बन्ने छ। यस्ता साथीहरूलाई माधव नेपाल कमरेडले रोक्नुपर्छ। उनीहरूको कुनै भरोसा छैन।’ नेपालनिकट नेताहरूले नयाँ अनुहारलाई स्थान दिनुपर्ने सुझाव दिएका छन्। क्षणिक अवसरका लागि पार्टी वा समूह फेर्दै हिँड्ने पात्रहरू रोक्न–सके मात्रै एकिकृत समाजवादीको औचित्य पुष्टि हुने प्रायः नेताहरूको राय छ।नयाँ पार्टी दर्ता नहुँदै देउवा नेतृत्वको सरकारमा सहभागी हुन हतारिएका सांसदहरू नै मन्त्रीको सबैभन्दा अघिल्लो दौडमा छन्।

एमाले अध्यक्ष ओलीको खरो आलोचकका रूपमा चिनिएका युवा सांसद मेटमणी चौधरी आफूले मन्त्री पाउनैपर्ने अडानमा हुनुहुन्छ । उहाँसँगै मन्त्रीका लागि तत्कालीन ओली समूह छाडेका प्रेम आले र किसान श्रेष्ठले कुनै कसरत बाँकी राख्नुभएको छैन । श्रेष्ठ र आले मन्त्री हुनेमा ढुक्क हुनुहुन्छ । आकांक्षीहरूलाई आलोपालो मन्त्री बनाउने आश्वास दिनुभएका अध्यक्ष नेपालले आफूलाई संकटमा साथ दिने सबै नेताहरूको उचित मूल्याङ्कन गर्ने बताउनुभएको छ । चन्द्रागिरीस्थित चन्द्रागिरी रिसोर्टमा नेता नेपालले पहिलो चरणमा अन्य सांसदलाई पालो दिन आग्रह गरेपछि चौधरी, आले र किसान श्रेष्ठले मन्त्री पद नपाए एकिकृत समाजवादी छाड्नेसम्मको चेतावनी दिएको नेपालनिकट स्रोत बताउछ ।

‘मैले संकटमा साथ दिने नेताहरूको बारेमा सोचिसकेको छु। तपाईहरू आत्तिनुपर्दैन। तुल्सा कमरेड पनि यतै हुनुहुन्छ। उहाँलाई पनि स्थान दिनैपर्छ। पहिलो–लटमा अन्य सांसदलाई पालो दिनुहोस्,’ दबाब खेपिरहेका नेपालले पटकपटक आग्रह समेत उनीहरूले नमानेको ती नेताको भनाइ छ । मन्त्री बनाउने आश्वासनपछि नयाँ पार्टीमा एमालेका उपाध्यक्ष वामदेव गौतमको पत्नी तुलसा थापा मन्त्री बन्ने आश्वासन पाएपछि नेपाल नेतृत्वको पार्टीमा लाग्नुभएको हो ।