काठमाडौं, १९ भदौ । नेकपा एमाले कास्कीबाट निर्वाचित जनप्रतिनिधिहरू माधन नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीमा नजाने घोषण गर्नुभएको छ । कास्कीमा शुक्रबार भएको निर्वाचित जनप्रतिनिधिहरूको भेलामा सबै जनप्रतिनिधिहरू नेकपा एमालेमा रहने बताउनुभएको हो । भेलामा कास्कीका ४ गाउँपालीका र पोखरा महानगरपालिकाका जननिर्वाचित प्रतिनिधिहरू सहभागी हुनुभएको थियो । कास्कीमा ५ पालिकामध्ये अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष बाहेक सबै पालिकामा अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको थियो ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङसहित २२ वटा वडाध्यक्ष नेकपा एमालेले जितेको थियो । महानगरका सबै जनप्रतिनिधि नेकपा एमालेमै रहेको पोखरा महानगरपालिका उपप्रमुख मन्जुदेबि गुरुङले दाबी गर्नुभयो । महानगरमा निर्वाचित १ सय ५२ जना सबै जनप्रतिनिधि सबै नेकपा एमालेमा रहेको उहाँले बताउनुभयो । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुब्बा गुरुङ सहित जितेका वडाध्यक्ष र सदस्यहरू नेकपा एमालेमै रहनुभएको छ । गाउँपालिका भित्रका सबै नेकपा एमालेमा एक ढिक्का रहेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ र उपाध्यक्ष विष्णुमाया आचार्य पौडेलसहित सबै जनप्रतिनिधि नेकपा एमालेमै रहनुभएको छ ।
एमाले प्रदेश कमिटी सदस्य तथा मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले सबै जना एमालेमा एकताबद्ध रहेको बताउनुभयो । माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले सुर्यकै पक्षमा आफू सहितका सबै जनप्रतिनिधि एकताबद्ध रहेको बताउनुभयो । उपाध्यक्ष कृष्णकुमारी दवाडी सहित सबै वडाध्यक्ष र सदस्यहरूले नेकपा एमालेमै रहने बताउनुभएको हो । यसैगरी अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष सगुन गुरुङसहित वडाध्य र सदस्यहरूले नेकपा एमाले रोज्नुभएको छ । कास्कीमा एमालेबाट २८१ जना जनप्रतिनिधि रहेका छन् ।भेलामा सहभागी जनप्रतिनिधिले हस्ताक्षर गर्दै कार्यक्रम सभाहलमा प्रबेश गरेका थिए । भेलालाई नेकपा एमाले केन्द्रिय सदस्य पूर्वमन्त्री खगराज अधिकारी, केन्द्रिय सदस्य सीता गिरी ओली लगायतले सम्बोधन गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्