काठमाडौं, भदौ २२ । राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रावधानअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आज साँझ ५ बजेसम्ममा दल रोजिसक्नपर्ने थियो । ७७ जिल्ला र सातवटै प्रदेशमा एमाले र जसपाबाट प्रतिनिधित्व गर्ने दलले कुन दलमा जाने भनेर निर्वाचन कार्यालय पुगेर सनाखत गरिसकेका छन् ।
तर, प्रदेशसभाका सभामुखहरुले भने दल रोज्ने विषयमा चासो नै दिनुभएन । सभामुखमा निर्वाचित भएपछि दलीय सदस्यता त्याग गर्नुपर्ने व्यवस्था भएपनि निर्वाचन आयोगको रेकर्डमा भने निर्वाचित भएको दलकै सदस्यता कायम रहन्छ । सभामुखहरुले दल नरोजेपछि अब सातमध्ये एमालेका चारजना र जसपाका एकजना सभामुखको दलीय हैसियत साविककै कायम हुने निर्वाचन आयोगले जनाएको छ। प्रदेश १ का सभामुख प्रदीप भण्डारी, बाग्मतीका सानुकुमार श्रेष्ठ, कर्णालीका राजबहादुर शाही र सुदूरपश्चिमका सभामुख अर्जुनबहादुर थापा एमालेबाट निर्वाचित हुनुभएको हो ।
उहाँहरू नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्न निर्वाचन कार्यालय पुग्नुभएन । प्रदेश २ का सभामुख सरोज यादव तत्कालीन राजपाबाट निर्वाचित हुनुहुन्छ । उहाँपनि सनाखतका लागि निर्वाचन कार्यालय जानुभएन । सभामुखहरूले स्वतन्त्र हैसियतमा रहेकाले सनाखत गर्न नपर्ने बताएपनि निर्वाचन आयोगले भने सनाखत नभए निर्वाचित हुँदाको दल नै निर्वाचन आयोगको रेकर्डमा रहने बताएको छ। यो विषयमा सभामुख र आयोगको फरक फरक धारणा आएपनि सरकारले ल्याएको अध्यादेश भने मौन छ।













प्रतिक्रिया दिनुहोस्