जनता टाइम्स

२२ भाद्र २०७८, मंगलवार २२:०३

ओली सरकारले दिएको अधिकार परमादेशको सरकारले खोस्यो – राना समुदाय


कैलाली, भदौ २२ । सुदूरपश्चिमका राना समुदायका नागरिकले केपी शर्मा ओली नेतृत्वको सरकारले दिएको अधिकार परमादेशको सरकारले खोसेको आरोप लगाएका छन् ।

देउवा नेतृत्वको परमादेशको सरकारले राना भाषालाई उपेक्षा गरेको आरोप लगाएका हुन । भाषा आयोगले २०७६ कार्तिक १६ गते थारु भाषालाई पहिचान गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदा प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा पहिचान भएको राना थारु भाषालाई २०७६ साल माघ २० गते आदिवासी जनजातिको सूचीमा नेपाल सरकारले सूचीकृत गरेको थियो । कैलाली र कञ्चनपुरमा अहिले तीन लाख बढी राना थारु समुदायका नागरिकहरूको बसोबास छ । प्रदेशमा करिब ११ प्रतिशतभन्दा बढी नागरिक बसिरहको र कैलाली कञ्चनपुरका २७ बिद्यालयमा राना भाषाको अध्यापन भइरहेको हुँदा पनि वर्तमान परमादेशको सरकारले पूर्वाग्रही ढंगबाट कामकाजको भाषा बनाउनबाट रोकेको नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले बताउनुभयो ।

‘अघिल्लो सरकारले हामीलाई सूचीकरण गरेपछि थप अधिकार स्थापित हुने अपेक्षा गरेका थियौँ । तर, अहिले षडयन्त्रपूर्ण रूपले हामीलाई उपेक्षा गरिएको छ’ उहाँले भन्नुभो ‘हामी यसविरुद्ध आन्दोलन गर्ने तयारीमा छौँ ।’ २० वर्षदेखि आफ्नो पहिचान र अधिकारका लागि राना थारु समुदाय संघर्षरत छन् । कैलालीबाट निर्वाचित प्रतिनिधिसभा सांसद नारदमुनि रानाको पहलमा थारु जाति र उनीहरुको भाषाको पहिचान भएको थियो ।

सूचीकरणपछि प्रदेशमा सरकारी कामकाजको भाषा बन्ने अपेक्षा गरेका यहाँका नागरिक पुनः निराश भएका छन् । ‘हाम्रो भाषाको सबै मापनहरू पूरा भएको थियो थियो’ अध्यक्ष रानाले भन्नुभयो , हामीप्रति पूर्वाग्रही भएर सरकारी कामकाजको भाषा बन्न दिइएन ।’
भाषा आयोगले मुलुकमा पाँच वर्षभित्र बोलिने भाषाको अध्ययन, अनुसन्धान, अभिलेखीकरण गरी सरकारी कामकाजको भाषा किटान गर्ने र अन्य मातृभाषा संरक्षण, संवर्द्धन र प्रवर्द्धनका निम्ति सिफारिस गरिसक्नुपर्ने प्रावधान संविधानमा छ । मुलुकको जनसङख्या, भाषा बोल्नेको संख्या, एकभन्दा बढी पालिकामा बोलिने भाषा, ऐतिहासिकता, पहिचान, लेखन प्रणाली विकास र प्रयोगलाई प्रमुख आधार मानेर आदिवासी जनजातिको सूचीमा सूचीकृत गरेता पनि पूर्वाग्रही भइ देउवा सरकारले खारेज गरेको प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले बताउनुभयो । उहाँले भन्नुभयो , ‘निकै ठूलो प्रयासपछि हाम्रो समुदायको सरकारले सूचीकरण गरेको थियो । पूर्व प्रधानमन्त्री केपी ओलीले राना समुदायको भावना अनुसार सूचीकरण गरेर कामकाजको भाषा बनाउन पहल गर्नु भएको थियो तर, देउवा सरकारले राना समुदायको भावनामाथि ठेस पुर्याएको छ । ’

दोस्रो संविधानसभाको निर्वाचनमा शेरबहादुर देउवा धनगढी क्षेत्रबाटै निर्वाचित हुनुभएको थियो। प्रतिनिधिसभा निर्वाचनमा भने देउवा पत्नी आरजु राणा देउवा धनगढी क्षेत्रबाट निर्वाचनमा उठनुभएको थियो । दम्पती नै चुनाव लड्ने क्षेत्रमा रहेका समुदायप्रति उदासिन रहेको नेपाल राना थारु समाजका केन्द्रीय उपाध्यक्ष कमल रानाले बताउनुभयो । ‘उहाँहरू निर्वाचनमा मात्रै त्यहाँको बिषयमा कुरा निकाल्नु हुन्छ । त्यसपछि यस्ता बिषयमा चासो दिनुहुन्न’ उहाँले भन्नुभयो ‘हामीले निकै मेहनत गरेर सिफारिस गरेको भाषालाई रोक्न प्रयास गर्नुहुन्छ । ’ उहाँले आरजु राणा देउवाले निर्वाचनमा पराजय भोगेको पीडास्वरूप राना भाषालाई कामकाजको भाषा नबनाएको आरोप लगाउनुभयो । पहिलो दिन मंगलबार काठमाडौँमा र त्यसपछि कैलाली कञ्चनपुरमा आन्दोलन गर्ने जानकारी दिनुयभो ।