जनता टाइम्स

२५ भाद्र २०७८, शुक्रबार ११:०३

एमसीसीकै कारण सत्ता गठबन्धनका नेताहरुबीच टकराव : बालुवाटार र खुमलटारको दुरी बढ्यो


काठमाडौं, भाद्र २५ । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले शिर्ष नेताहरुबीच ध्रुवीकरण बढेको छ । यसअघि निकट रहेका नेताहरुबीच दुरी बढेको हो । एमसीसीलाई राजनीतिक अस्त्र बनाएर कतिपय नेताहरुले लाभ लिन खोजेका छन् । यसलाई रणनीतिक दाउपेचको विषय पनि बनाइएको छ ।

एमसीसीको अस्त्रले सत्ता गठबन्धन धरमराएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी यथावस्थामा कुनै हालतमा पारित नहुने बताउनुभएको भोलिपल्दै बुधबार सत्ता गठबन्धन तोड्ने खेल भएको एक कार्यक्रममा खुलशा गर्नुभयो । यसले उहाँ एमसीसी कुनै हालतमा पारित गर्न नदिने रणनीतिमा रहेको खुलेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीको पक्षमा दरिलो गरी उभिनुभएको छ । उहाँले एमसीसी पारित गराएरै छाड्ने उद्देश्यका साथ अघि बढ्नुभएको छ । देउवा र प्रचण्डको यही मुद्दाले दुरी बढ्दै गएको छ । यसले गठबन्धन धरमराउन थालेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी उपाध्यक्ष फतिमा सुमारसँग बिहिबारको भेटमा सत्ता गठबन्धनले धारणा बनाएपछि आफूहरुले धारणा ल्याउने जवाफ दिनुभएको छ । । ओलीले एमसीसीबारे आफूहरु नहतारिने बताउनुभएको छ । एमसीसी मुद्दाबाट सत्ता गठबन्धन टुट्न सक्ने राजनीतिबृत्तमा चर्चा सुरुभएको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी पाँच दलीय गठबन्धनमा एमसीसीबारे सहमति नबन्ने निश्चितप्रायः देखिएको छ । नेपाली काँग्रेस एमसीसीको पक्षमा खुलेको छ । नेकपा माओवादी केन्द्र र नेकपा एस संशोधन गरेर मात्र पारित गर्नुपर्ने पक्षमा छन् । यो उनीहरु विरोधमा रहेको सन्देश हो ।जसपा पनि एमसीसीकै पक्षमा देखिएको छ । राष्ट्रिय जनमोर्चा एमसीसीको विपक्षमा छ । एमसीसीकै कारण सत्ता गठबन्धनका नेताहरुबीच टकराव समेत बढ्दै गएको छ ।