जनता टाइम्स

२५ भाद्र २०७८, शुक्रबार १९:१३

माधवलाई ठूलो झड्का, एमाले त्याग्न सकिन्न भन्दै दुई हस्तीले गरे जिम्मेवारी अस्वीकार



चितवन, भदौ २५ । नेकपा (एकीकृत समाजवादी) को महत्वपूर्ण जिम्मेवारी दिइएका दुई नेताले अस्वीकार गर्दै एमालेमै रहेको घोषणा गर्नुभएको छ । माधव नेपाल नेतृत्वको नेकपा एसले चितवन जिल्ला कमिटी सहसचिव बनाएका दिव्या शर्मा र भरतपुर महानगर कमिटी सहसचिव शोभा पण्डितले एमाले छाड्न नसक्ने भन्दै जिम्मेवारी अस्वीकार गर्नुभएको हो ।

दुबै जना माधव नेपाल पक्षले बनाएको समानान्तर कमिटीमा सोही पदको जिम्मेवारीमा हुनुहुन्थ्यो । शर्मा भरतपुर महानगरको चुनावमा एमालेका तर्फबाट उपमेयर पदमा ३९ हजार ५ सय २५ मत ल्याएर पराजित बन्नुभएको थियो । उहाँलाई कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवार बन्नुभएकी कांग्रेस नेतृ पार्वती शाहले ७ हजार ६ सय ७२ मतले पराजित गर्नुभएको थियो ।

‘पार्टी एकतामा दबाब दिन समानान्तर कमिटीमा बसेका थियौं,’ शर्माले भन्नुभयो, ‘म एमाले छाडेर जान सक्दिनँ, पार्टी विभाजनको पक्षमा छैन्।’ महानगर सहसचिव पद अस्विकार गर्नुभएकी पण्डितले पनि एमाले छाडेर अन्य दलमा नजाने बताउनु भयो । ‘समानान्तर कमिटी र नयाँ दल फरक हुन, एमालेमै रहेर क्रियाशिल हुनेछु,’ उहाँले भन्नुभयो । पार्टी एकताको १० बुँदे सहमति कार्यान्वयनको चरणका बेला दल त्यागेर जान नसकिने उहाँहरुको भनाइृ छ ।