जनता टाइम्स

३० भाद्र २०७८, बुधबार १६:३४

पार्टी कब्जा गर्न नसकेपछि प्रचण्ड-माधव स-साना झुण्ड बोकेर कांग्रेसतिर लागे – नेता पौडेल


बुटवल, भदौ ३० । नेकपा एमालेका उपमहासचिव तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडलले प्रचण्ड र माधव नेपालले शुरूमा नेकपा र त्यसपछि एमाले कब्जा गर्न असफल भएपछि कांग्रेसको पछि लागेको टिप्पणी गर्नुभएको छ । बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेल माधव नेपालप्रति आक्रामकरूपमा प्रस्तुत हुनुभएको थियो ।

उहाँले नेकपा एसमा लागेकाहरूलाई माधव नेपालमार्फत कांग्रेसको सेवा गर्नुभन्दा सीधै कांग्रेसमा प्रवेश गर्न वा एमालेमा फर्किन सुझाव दिनुभयो । पौडेलले एमाले विभाजनको प्रयास असफल भएको भन्दै माधव नेपाल लगायतका केही स्वार्थी र महत्वाकांक्षी व्यक्तिहरू कांग्रेसतिर लागेको आरोप लगाउनुभयो । उहाँले रुपन्देहीमा पार्टी विभाजनको पक्षमा कोही पनि नरहेको दावी गर्नुभयो । पौडेलले छिट्टै मुलुक चुनावमा जान लागेको भन्दै एमाले आफ्नो हैसियतसहित सत्तामा आउने पनि बताउनुभयो । केही समय आफ्नै पार्टीभित्रका स्वार्थीहरूका कारण प्रतिपक्षमा बस्नु परे पनि एमालेले आफ्नो हैसियत देखाउने दावी गर्नुभयो । तत्कालीन नेकपाका महासचिव पौडेलले प्रचण्ड–माधवले आफ्नो सरकार ढाल्न र पार्टी फुटाउन अध्यक्ष केपी ओली र आफूसहितलाई साधारण सदस्यबाट निष्कासन गरेको सम्झिदै कब्जा गर्न नसकेपछि कांग्रेसको पछि लाग्न तयार भएको बताउनुभयो ।

पौडेलले भन्नुभयो, ‘उहाँहरू पार्टी फुटाएर सत्तामा जान खोजे, एमालेमा डेढ दशक मुख्य नेतृत्व गरेका र प्रधानमन्त्री भएका माधव नेपालले प्रचण्डको साथ लिएर पार्टी कब्जा गर्न खोजे । उहाँहरु नसकेपछि आफैं बाहिरिनुभएको छ , यसले केही असर गर्दैन ।’ पौडेलले फागुन २३ को फैसलापछि पनि नेकपा एकता गरौं भन्दा प्रचण्ड तत्कालीन माओवादीका केही झुण्डलाई लिएर अलग भएको आरोपसमेत लगाउनुभएको थियो । उहाँले माओवादी आन्दोलनको मूलधार केपी अ‍ोली नेतृत्वकै पक्षमा रहेको र एमालेमै समाहित भएको बताउनुभयो । एक्लै चुनाव लड्ने क्षमता प्रचण्ड माधव र कांग्रेसमा नरहेको भन्दै उहाँले सबै मिलेर बनेको गठबन्धनलाई परास्त गरिने र माधव नेपालको पार्टीले एक सिट जित्नु त परै जावस्, कुनै एक क्षेत्रमा जमानत पनि जोगाउन नसक्ने दावी गर्नुभयो । रुपन्देहीबाटै निर्वाचित नेता पौडेलले अघिल्लो स्थानीय चुनावमा कांग्रेस र माआवादी मिलेर लड्दा पनि एमालेले जितेको भन्दै आउने चुनावमा ५ वटै निर्वाचन क्षेत्र र १६ वटा स्थानीय तहमा जिताउनेगरि लाग्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।