जनता टाइम्स

३० भाद्र २०७८, बुधबार १६:५६

सरकारले हामीले ल्याइदिएको कोभिडविरुद्धको खोप पनि वितरण गर्न सकेन : ओली


रुपन्देही, भदौ ३० । एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले बनाउने होयन, भत्काउने काममात्रै गरेको बताउनु भएको छ । बुटवलमा एमाले कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले अब घन्टाघर पनि भत्काउने बताउनु भयो । ‘हामीले धरहरा बनायौं । रानीपोखरी बनायौ, अब यिनीहरूले घन्टाघर भत्काएर नयाँ बनाउने रे । यिनीहरूले भत्काउलान् तर बनाउँदैनन् । यिनीहरूले भत्काए भने हामी आएर भव्य घन्टाघर बनाउँछौं । एमालेले बनाउँछ,’ ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले वर्तमान सरकारले ल्याइदिएको कोभिड १९ विरुद्धको खोप वितरण गर्न नसकेको ठोकुवा पनि गर्नुभयो । कोभिड महामारीका बेला स्वास्थ्य मन्त्रालयमा विभागीय मन्त्री नियुक्त गर्न नसकेको भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो । बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले खोपबारे बुझेको महानिर्देशक हटाएर केही नजानेको मान्छे राखेको भन्दै आक्रोश पोख्नुभयो ।

‘खोप उत्पादक नभए पनि भारतपछि साउथ एसियामा हामीले खोप सुरु गर्‍यौं । करोडौं खोप ल्यायौं । अहिले यो सरकारलाई त्यो खोप बाँड्न हम्मेहम्मे परेको छ,’ ओलीले भन्नुभयो ‘मन्त्री पनि छैन, डाइरेक्टर पनि हटाए । केही पनि नजाने मान्छे ल्याएर जागिर खुवाएर राख्या छ ।’ आफूले ल्याएका विकास निर्माणका योजनाहरु काम गर्न नसकेर सरकारले धमाधम रद्ध गरिरहेको ओलीको भनाइ थियो ।