जनता टाइम्स

३१ भाद्र २०७८, बिहीबार २२:२३

दश बुँदे सुझावलाई रचनात्मक ढंगले लागु गरिन्छ – एमाले महासचिव पोखरेलले


काठमाडौं, ३१ भदौ । नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले दश बुँदे सुझावलाई रचनात्मक ढंगले लागु गर्ने बताउनुभएको छ । बिहीवार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जिल्ला स्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टीको एकतालाई मजबुद बनाउनका लागि तयार पारिएको दश बुँदे सुझावलाई पार्टीले सिर्जनात्मक र रचनात्मक ढंगले लागु गरिने बताउनुभयो ।

दशबुँदे कार्यान्वयनबाट पार्टी पछि नहट्ने उहाँले बताउनुभयो । एमालेलाई कानूनी अर्थ र मर्मका आधारमा २०७५ साल जेठ २ गतेको एमाले भएपनि वर्तमान एमाले भनेको एकता पछि बनेको विकसित एमाले नै रहेको उहाँले स्पष्ट पार्नुभयो ।

आजको आवश्यकता एकतापछि बनेको एमालेकै रहेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘पार्टी भित्रको एकतालाई बजबुद बनाउने उद्देश्यका साथ तयार पारिएको दश बुँदे सुझावलाई पार्टी केन्द्रले यिनै मान्यताका साथ स्वीकार गरेको हो । त्यहाँ उल्लेख भएका सुझावलाई सिर्जनात्मक ढंगले, रचनात्मक ढंगले लागु गर्ने हाम्रो प्रतिवद्धता हो ।

त्यो प्रतिवद्धताबाट पार्टी नेतृत्व किञ्चित मात्रै पनि पछि हट्दैन । किनभने हामीलाई चाहिएको छ पार्टी एकता । यो पार्टी एकता अत्यन्त जरुरी छ । त्यसकारणले त्यो सुझावलाई कार्यान्वयन गर्नुपर्ने हाम्रो कर्तव्य हो । पार्टीको संगठनात्मक संरचनाहरुलाई २०७५ जेठ २ मा पु¥याउनु भनेको म दुइवटा वर्ड प्रयोग गर्न चाहान्छु, यो जेठ २ मा पु¥याउनु भनेको यसको पहिलो कुरा पोलिटिकल सेन्सका साथ कानूनी अर्थ र मर्मका आधारमा यसलाई बुझ्नुपर्ने जरुरी छ । आजको एमाले २०७५ साल जेठ २ गतेको एमाले मात्रै होइन, यो विकसित एमाले हो ।

परिवर्तित र एकता प्रक्रियासहितको एमाले हो भन्नेकुरा बुझ्नु पर्दछ । यो एकता प्रक्रियासहितको एमाले हो भनेर नबुझ्ने हो भने यान्त्रिक ढंगले २०७५ साल जेठ २ मात्रै भनियो भने साँचो अर्थमा विकसित भएको एमालेलाई बुझ्न सकिदैनँ । यो परिवर्तित र एकता प्रक्रियासहितको एमाले भनेर बुझ्न सकिदैन र आजको आवश्यकता के हो भने यो परिवर्तित सन्दर्भको एमाले हो । एकता प्रक्रियासहितको एमाले हो ।’महासचिव पोखरेलले पार्टी एकताको प्रमुख सर्त भनेको पार्टीको पक्षमा दृढतापूर्वक उभिनु रहेको बताउनुभयो ।

कुनैपनि शर्त राखेर पार्टीको पक्षमा नउभिने कुरा एकताको पक्षपाती हुन नसक्ने पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले गुटबन्दीमा संलग्न भएर पार्टीलाई कमजोर बनाउने, पार्टीप्रति अनास्था फैलाउने तथा फुट र विभाजनकारी गतिविधिलाई सहयोग पु¥याउने कुरालाई कुनैपनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘एकताको लागि प्रमुख सर्त भनेको के हो भने, एकताको कुरा भनेको एउटै कुराले निर्धारण गर्दछ । पार्टीको पक्षमा दृढतापूर्वक हामी उभिन्छौ कि उभिदैनौँ । इफ, बट लगाएर पार्टीको पक्षमा दृढतापूर्वक नउभिने कुरा हुन्छ भने हामी एकताको पक्षपाती हुन सक्दैनौँ ।

हामीले जब एकताको कुरा गरेको छ भने पार्टीको पक्षमा दृढतापूर्वक उभिनु पर्दछ । पार्टीको पक्षमा दृढतापूर्वक उभिने र क्रियाशिल हुने प्रमुख कुरा हो । गुटबन्दीमा संलग्न भएर पार्टीलाई कमजोर बनाउने, पार्टीप्रति अनास्था फैलाउने र फुट र विभाजनकारी गतिविधिलाई सहयोग पु¥याउने कुरालाई कुनैपनि हालतमा स्वीकार गर्न सकिदैनँ ।

’महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धन अवसरवादी र अनैतिक भएको टिप्पणी पनि गर्नुभयो । गठबन्धन संविधान, कानून, लोकतान्त्रिक मूल्य मान्यताको विपरित गएको उहाँको भनाई छ ।

उहाँले एमालेलाई आगामी दिनमा सुदृढ बनाउनका लागि विचारमा स्पष्टता हुनुपर्ने, पार्टी संगठन राज्यको संरचनासँग मिल्नेगरी बनाउनुपर्ने, पार्टीलाई विधिसम्मत् ढंगले चलाउनुपर्ने, पार्टी सदस्यको वृद्धि र गुणस्तरीयता साथै आर्थिक सामाजिक विकासमा अगुवाई गर्ने पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो ।