जनता टाइम्स

३१ भाद्र २०७८, बिहीबार २३:०३

सरकार विस्तार गर्न नसक्नेले राजीनामा दिनुपर्छ : डा. रावल


काठमाडौं, भदौ ३१ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले दुई महिना बितिसक्दा पनि सरकार विस्तार नहुनु दुःखद भएको बताउनुभएको छ । एमाले विभाजनपछि पहिलो पटक गृह जिल्ला अछाम आएका रावलले सदरमुकाम मंगलसेनमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै लोकतन्त्र, विधिको शासन, अग्रगमन भन्दै वकालत गरेर सरकारमा गएकाहरू देश र जनताप्रति उदासीन भएको आरोप लगाउनुभयो । दुई महिनादेखि सरकार विस्तार भएको छैन।

सत्ता साझेदार दलहरू बढी कमिसन आउने मन्त्रालय ताकेर बसेका छन्। यो जनताप्रतिको चरम उदासीनता होु, नेता रावलले भन्नुभयो । उहाँले नेपालमा प्रजातन्त्रको स्थापना तथा बजेट जारी गर्ने प्रक्रिया सुरु भएदेखि हालसम्म नभएको घटना घटेको बताउनुभयो । बजेट संसदबाट पारित हुन नसकेर सरकारले खर्च गर्न नपाउने अवस्था आएकोप्रति उहाँले खेद व्यक्त गर्नुभयो । नेता रावलले आफूले जहिले पनि निःस्वार्थ रूपमा देश र जनताको भलाई, पार्टीको हित तथा राष्ट्रियताको पक्षमा आवाज उठाइरहेको प्रस्टोक्ति दिनुभयो । उहाँले पार्टी फुटको पीडा सिंगो देश र एमालेले नराम्रोसँग भोगिसकेकाले विभाजन कसैको हितमा नभएको बताउनुभयो ।

आफूले विषय र गुणदोषका आधारमा बोल्ने गरेको बताउँदै उहाले राष्ट्रियता, स्वाधीनता र अखण्डता पार्टी भन्दामाथि रहने रावलले बताउनुभयो । आफूले वर्षौँदेखि माया गरेका र भरोसा गरेको एमालेको पंक्ति एमालेमै रहेको भन्दै पार्टी त्यागेकाहरूलाई समयले नै जवाफ दिने बताउनुभयो । एमाले जिल्ला उपाध्यक्ष नन्दसिंह कडायको अध्यक्षतामा भएको कार्यक्रममा नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य भरत साउँद, बम बिसी, कृष्ण प्रसाद जैसी, अछाम क्षेत्र नम्बर २ का सांसद तथा पार्टी सचिव यज्ञ बोगटी, अनेरास्ववियु केन्द्रीय सदस्य डम्बर बिसी, एमाले जिल्ला सचिवालय सदस्य सरिता उपाध्यायलगायतले बोल्नुभएको थियो ।