जनता टाइम्स

४ आश्विन २०७८, सोमबार ११:०८

आजदेखि दसैंका लागि नयाँ नोट साटन पाइने, यी बैंकबाट पाइन्छ



काठमाडौं, असोज ३ । नेपाल राष्ट्र बैंकले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरेर आजदेखि नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । राष्ट्र बैंकले दशैंका लागि आजदेखि सर्वसाधारणलाई नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले तोकेका विभिन्न बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउनेछन् । राष्ट्र बैंकले इजाजत प्राप्त वाणिज्य बैंकको शाखाबाट नयाँ नोट साट्न सकिने जनाएको छ ।

काठमाडौं उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा नयाँ नोट साट्न पाइनेछ । सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नायाँ नोट साट्न पाउने छन् ।

दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले राष्ट्र बैंकले हरेक वर्ष नयाँ नोट वितरण गर्दै आएको छ । तर कोभिड संक्रमणको उच्च जोखिम भएकाले गत वर्ष भने राष्ट्र बैंकले नयाँ नोट साट्ने व्यस्वा गरेको थिएन । राष््र बैंकले नयाँ नोट साट्न जाँदा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि आग्रह गरेको छ ।