काठमाडौं, साउन १५
केही समय अघि नेपाल कम्युनिष्ट पार्टीका सांसद तथा स्थायी समिति सदस्य योगेश भट्टराईले भन्नुभएको थियो,‘मन्त्रिपरिषद् हेरफेर खासमा पहिले धेरै छलफल गरेर कार्यान्वयन गर्ने विषय होइन । यदि भोलि निर्णय गर्नु पर्ने छ भने आज राति छलफल गर्ने विषय हो यो । किनकि पहिले नै छलफल गर्ने हो भने काम गरिरहेका मन्त्रीहरुको मनोदशमा समस्या हुनसक्छ, उहाँहरुको कामलाई यस्ता छलफलले प्रभावित पारिदिन्छ ।’
साउन १५ को चपेटा, कोही खिर खाने शुरुमा थिए त कोही खाईसकेका थिए । त्यसै क्रममा मध्यान्ह एक समाचार एकाएक भाइरल भयो । नेकपाका नेता योगेश भट्टराई पर्यटनमन्त्री बन्ने । कसैले यसलाई अफवाहका रुपमा लिए भने कसैले यसलाई पुरानै शैली भन्नसम्म भ्याए । तर, मुलधारका समाचार पोर्टलमा पनि यो समाचार आएपछि सबैले पत्याए ।
त्यसैक्रममा धेरैको मानसपटलमा एउटा भाषणाको याद आयो । प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व–पश्चिम चुनावी अभियानको पहिलो दिननै ताप्लेजुङमा एउटा दमदार भाषणा गर्नुभएको थियो । ०७४ कार्तिक १९ ताप्लेजुङबासी समक्ष उहाले वाचा गर्दै भन्नुभएको थियो, तपाईहरु योगेश भट्टराईलाई चुनाव जिताएर पठाउनु होस्, म मन्त्री बनेर पठाईदिन्छु ।’ नभन्दै तत्कालिन एमाले र माओवादीले झण्डै दुई तिहाई सिट सख्या ल्याएर चुनाव जित्नुभयो । अध्यक्ष ओली ५ वर्षे कार्यकालका लागि प्रधानमन्त्री बन्नुभयो ।
प्रधानमन्त्री बनेपछि विस्तार गरेको मन्त्रिपरिषद्मा भट्टराई मन्त्री बन्नेको सूचिमा पर्नुभएन । सबैले भने प्रधानमन्त्री ओलीले बाचा पुरा गरेनन् । तर, २२ महिनापछि प्रधानमन्त्रीले त्यो बाचा पुरा गर्नुभएको छ । बुधबार अपरान्ह राष्ट्रपति निवासमा शपथ ग्रहण समारोह आयोजना भयो । शपथ लिएपछि प्रधानमन्त्रीले मुस्कुराउदै मन्त्री भएकोमा बधाई दिनुभयो । भट्टराईले पनि हास्दै उहाको बधाईलाई स्विकार गर्नुभयो ।
शपथ लिएपछि उहा सिंहदरवारस्थित पर्यटनमन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै उहाले आफु रविन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा आएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्