जनता टाइम्स

१५ बैशाख २०८१, शनिबार ०९:३७

८८ किलो सुन तस्करीमा मुछिएका गणेशदत्त अझै चिनियाँ तस्करका एजेन्ट, बाबुछोरा नै तस्करी धन्दामा


काठमाडौं, बैशाख १५ । चीनबाट नेपाल हुँदै भारत तस्करी गर्न लागिएको सुनसहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाबुछोरासमेत छन ।

दार्चुलाको महाकाली नगरपालिका– ३ टाटे बस्ने ४७ वर्षीय गणेशदत्त बडू र उनका २१ वर्षीय छोरा आयुषलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । बडू सात वर्षअघि पनि सुन तस्करीमा पक्राउ परी छुटेका व्यक्ति हुन । त्यतिवेला उनी ८८ केजी सुन तस्करी मुद्दामा पक्राउ परेका थिए ।

बडू बाबुछोरासहित झापा बिर्तामोड नगरपालिका ३ बस्ने ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरतराज खरेल पनि पक्राउ परेका छन् । उनीहरू पनि बडूकै आफन्त हुन । त्यस्तै, सुन किन्न पैसा लिएर गएका भारतीयहरू ३७ वर्षीय अमोल विभुते र १८ वर्षीय दुई जना किशोर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । उनीहरूसँग एक किलो ७६८.२९ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँँ फेला परेको छ ।

प्रहरीका अनुसार काठमाडौँको क्षत्रपाटीबाट २०७४ भदौ १९ मा ८८ किलो सुन बरामद भएको थियो । दार्चुलाको महाकाली नगरपालिका–३ घर भएका गणेशदत्त बडू त्यसबेला पक्राउ परेका थिए । ६ वर्षपछि ४७ वर्षीय बडू फेरि सुन तस्करी गरेको आरोपमा पक्राउ परेका हुन । ८८ किलो सुन प्रकरणमा उनी ३ लाख धरौटी बुझाएर छुटेका थिए । तर, उनले धन्दा छाडेनन् ।

चिनियाँ सुन तस्करको ‘एजेन्ट’ बनेर सुन तस्करी गरेको सुराकको आधारमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताउनु भयो । वैशाख १३ मा न्यूरोडस्थित इन्द्रचोकबाट प्रहरीले बडूसहित ७ जनालाई पक्राउ परेको छ । पक्राउ परेकामध्ये ३० वर्षीय दिनेश खरेल बडूका साढु भाइको छोरा हहुन ।

चिनियाँ नागरिकले पठाउने सुन गणेशदत्तले ‘वितरण’को जिम्मा लिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । बडूलाई चिनियाँ नागरिकले एक पटकमा डेढदेखि २ केजीसम्म सुन बेच्ने जिम्मा दिने गरेको खुलेको छ । भारतीय नागरिकहरू भने सुन लिन आएको अवस्थामा पक्राउ परेका हुन् ।

हालसम्मको अनुसन्धानमा सो सुन चीनबाट ल्याइएको खुलेको छ । नेपालतर्फ बडू नै यसका प्रमुख व्यक्ति देखिएका छन । यसमा चिनियाँ गिरोहसँग सम्पर्क देखिएको छ । पक्राउ परेका भारतीयहरू लामो समयदेखि नेपाल बस्दै आएका थिए । तीन महिनादेखि निगरानी गरेर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान विभाग पठाएको छ । थप प्रमाण संकलन गरेपछि संगठित अपराधमा अनुसन्धान गर्ने प्रहरी तयारी छ ।