जनता टाइम्स

३० कार्तिक २०७६, शनिबार १९:३६

उपचारपछि निवास फर्केलगत्तै प्रधानमन्त्री ओली सक्रिय, अर्का अध्यक्ष प्रचण्डसँग छलफल


काठमाडौं, कात्तिक ३० । प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि निवास फर्कनुभएको छ । ग्राण्डी इन्टरनेश्नल हस्पिटलमा मृगौलाको तेस्रो पटक डायलासिस गरी साँझ निवास फर्कनुभएको हो । प्रधानमन्त्री ओलीको आज ग्रान्डी इन्टरनेश्नल अस्पतालमा तेस्रो पटक होमोडालसिस गरिएको हो ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक एवं ग्राण्डीका नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभाग अध्यक्ष डा. दिव्या सिंह शाह, अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष डा प्रेमराज ज्ञवालीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण तथा उपचारका गराएको जनाउनु भएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । मिर्गौलाले एकाएक काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीले गत कात्तिक १२ र १३ गते सोही अस्पतालमा डायलायसिस गराउनुभएको थियो । यसअघि सिंगापुरमा प्रधानमन्त्री ओलीको उपचार भएको थियो । निवास फर्केलगत्तै प्रधानमन्त्री ओली नियमित काममा सक्रिय हुनुभएको छ ।

उहाँले निवास फर्केलगत्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहला, प्रचण्डसँग लामो छलफल गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बार्तामा पार्टी एकताको बाँकी काम र सरकारले अघि बढाउन लागेको परिणाममुखी कामबारे छलफल भएको थियो । अध्यक्षद्वय ओली र प्रचण्डबीच वान टु वान बार्ता भएको हो ।