जनता टाइम्स

२७ बैशाख २०७७, शनिबार २१:०४

उपत्यकामा आइतबारदेखि सवारी चलाउन ‘टाइम कार्ड’ लागू, यी सवारी साधनलाई यस्तो छ समय


काठमाडौं, बैशाख २७ । लकडाउनको समयमा आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधन चलाउन ‘टाइम कार्ड’ लागू गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुखलगायतका सरोकारवाला निकायहरूबीच आज भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्दै टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जनताटाइम्सलाई दिनुभएको जानकारी अनुसार अब तोकेको समयमा मात्र उपत्यकामा सवारी चलाउन पाइने छ । एसएसपी ढकालका अनुसार आइतवारबाट सरकारी कार्यालयका कर्मचारीहरूलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ । सो समयमा सरकारी कर्मचारीले सवारी साधन चलाउन पाउने छन । यसैगरी बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्ने समय तोकिएको छ ।

‘एक तिहाइ मात्र कर्मचारी जाने भनिएको छ । त्यसैले दिउँसोको समयमा सामान्यतया आवत जावत नगरौं भनेर समय तोकिएको हो,’ टफिक प्रमुख एसएसपी ढकालले जनताटाइम्ससँग भन्नुभयो । उहाँका अनुसार खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्नेछ । निमाण सामग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र बिहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन । औषधि र खानेपानीको सवारी साधानको हकमा भने टाइम कार्ड लागू हुने छैन । यसअघि नै सवारी चलाउन पाउने अत्यावश्यक सेवाका सवारी साधनमा पनि टाइम कार्ड लागू हुनेछैन ।