जनता टाइम्स

२० असार २०७७, शनिबार १८:१५

एकताका लागि दबाब दिन मन्त्री निवासमा सांसदहरुको भेला : शीर्ष नेता मिलाउने आयो यस्तो निश्कर्ष


काठमाडौं, असार २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढ्दै जाँदा चौथो पस्ताका नेताहरु पनि छलफलमा जुटेका छन् । स्थायी कमिटी बैठकमा पार्टी विभाजनको तहसम्मै जाने गरी विवाद बढिरहेको बेला केन्द्रीय कमिटी सदस्यसमेत रहेका सांसदहरू एकताका लागि दबाब दिन भन्दै छलफलमा जुटेका हुन । प्रमुख नेताहरु बिवादमा देखिएपछि दोस्रो तहका नेताहरू समूहगत छलफलमा जुटेका बेला केन्द्रीय सदस्यसमेत रहेका सांसदहरू पनि दवाव दिन भेला हुन थालेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा बिहीबार संसद अधिवेशन अन्त्य गर्नुभएको थियो । संसद अधिवेशन अन्त्य हुनुमा नेकपाभित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध चालिएको गुटबन्दी बिवादको मुख्य कारक मानिएको छ । स्थायी कमिटीमा बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा माग गरेको भन्दै महाधिवेशन अगावै नेतृत्वबाट हटाउने खेल भइरहेको बेला कार्यकर्ता तह प्रतिवादमा उत्रिएपछि सवै तहका नेताहरु छलफलमा जुटेका हुन ।

बिवाद बढदै गएपछि नेकपाका केन्द्रीय कमिटी सदस्यसमेत रहेका संघीय सांसदहरू भेला भएर पार्टी एकता कायम राख्नका लागि दबाब दिने निर्णयमा पुगेका छन् । आज पुल्चोकस्थित महिला, बालबालिका तथा ज्येष्ठ नगारिकमन्त्री पार्वत गुरुङको निवासमा केन्द्रीय कमिटी सदस्यसमेत रहेका सांसदहरु भेला भइृ पार्टी एकताको पक्षमा दृढताका साथ उभिन नेताहरुलाई दवाव दिने निश्कर्षमा पुगेका छन ।

भेलामा मन्त्री गुरुङसहित झपट रावल, यज्ञराज सुनुवार, लिालानाथ श्रेष्ठ, टेकबहादुर बस्नेत, गणेश पहाडी, लिलानाथ श्रेष्ठ, सुरेश राई, खिमलाल भट्टराई, श्याम श्रेष्ठलगायतका एक दर्जन नेताहरु सहभागी हुनुहुन्थ्यो । उहाँहरूले पार्टी एकता विरोधी गतिविधि नगर्ने सबै नेता कार्यकर्तासँग आग्रह गर्ने र प्रमुख तीन नेतालाई भेटेर एकताका लागि दबाब दिने निर्णय गर्नुभएको छ ।

एकताका आधारमा पार्टीले प्राप्त गरेको जनमत जोगाउने र जनताले दिएको जिम्मेवारी स्मरण गराएर एकताका लागि दबाब दिने समझदारी भएको मन्त्रीसहित रहनुभएका नेता गुरुङले जानकारी दिनुभयो । ‘यो बेला नेकपा र मुलुकका सामू जुन चुनौती, ऐतिहासिक कार्यभार छन् तिनको सामना एकीकृत कम्युनिस्ट पार्टीले मात्रै गर्न सक्छ । यो कुरालाई मूल नेतृत्वले मध्यनजर गर्दै पार्टी एकतालाई सुदृढ बनाउन र सबैले गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ, कसैलाई अपमान गर्नुहुन्न भनेर दबाद दिने निर्णय भएको छ,’ गुरुङले भन्नुभयो । उहाँका अनुसार पार्टीमा सबैको सम्मान होस्, नेकपाले सबैलाई न्याय गर्छ भन्ने अनुभूति गराउने अवस्था सिर्जना गर्न आफूहरु एक ठाउँमा उभिएको बताउनु भयो ।

‘कुनै पनि कदमले अस्थिरता निम्त्याउने गतिविधि नहोस् भन्नका लागि अनुरोध गर्ने हो । सबैको हीत एकतामा नै छ भन्ने हाम्रो निष्कर्ष निकालिएको छ, यही निश्कर्षका आधारमा हामी अघि बढेका छौं,’ उहाँको भनाई छ । सांसद एवं केन्द्री सदस्य झपट रावलले प्रमुख नेताहरूलाई आरोपप्रत्यारोप रोक्न आग्रह गर्नेबारे बिषयमा आफूहरुबीच छलफल भएको बताउनु भयो ।

सो छलफलले अध्यक्ष एवं प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद तथा केन्द्रीय कमिटी सदस्यहरूले तीनवटै नेतालाई भेट्ने पनि निर्णय गरेको छ । त्यसका लागि प्रधानमन्त्रीसँग भेट्न समय मिलाउने जिम्मा मन्त्री गुरुङलाई दिइएको छ । अध्यक्ष दाहालसँग भेट्ने समय मिलाउन सांसद टेकबहादुर बस्नेत र नेता नेपालसँग भेट्ने समय मिलाउने जिम्मा सांसद सुनुवारले लिनुभएको छ । २२ गतेका लागि निर्धारित गरिएको स्थायी कमिटी बैठक अगाडि तीनवटै नेताहरूलाई भेट्ने तयारी सो समुहको तयारी छ ।