Untitled Document

“कुलत”को प्रोमो रिलिज

भक्तपुर, ७ असोज   

विद्यालयमा अध्ययनरत किशोर किशोरीहरू कतिबेला कुलतमा पर्छन् भन्ने जानकारी लिन अभिभावकले चुके त्यसको परिणाम नकारात्मक रहन्छ भन्ने सन्देशका साथ गीति नाटक “कुलत”को प्रोमो आज भक्तपुरमा रिलिज गरिएको छ ।

भक्तपुर सूर्यबिनायकस्थित रोसम इङ्गिल बोर्डिङ स्कुलमा आज सञ्चारकर्मी माझ कुलतको प्रोमोको रिलिज गरिएको हो । विद्यालय जाने समय र विद्यालयपछि फिर्ता हुने समयमा परिवारले आफ्ना सन्तानको समयको रेखदेख गर्न नसक्दा कलिला विद्यार्थी कुलतमा फस्न सक्ने सन्देशका साथ यो गीति नाटक निर्माण गरिएको निर्माता लोकेन्द्र अर्यालले जानकारी दिनुभयो ।

सन्तानको भविष्यलाई सोचेर अभिभावकले खाई नखाई आर्जन गरेको पैसाले आफ्नो सन्तानलाई विद्यालय पठाउने र भविष्यको सोचलाई साकार पार्ने सपना बुनेतापनि सन्तान कुलतमा फसेपछि ती सबै सपना त चक्कनाचुर हुन्छन् नै लगानीसमेत खेर जाने र समाजमा विकृति भित्रिने यो गीति नाटक कुलतले देखाउन खोजेको लेखक तथा निर्देशक लोकेन्द्र विश्वकर्मा चिदाकासले जानकारी दिनुभयो ।

साना नानीहरूको ब्यवहार र संगत कस्तो रहेको छ उनीहरूको अध्ययनको वातावरण कस्तो रहेको छ लगायत उनीहरूको दैनिकी व्यवहारप्रति अभिभावकले ध्यान दिन नसके त्यसको प्रतिफल सकारात्मक भन्दा नकारात्मक रहन सक्ने यो नाटकले देखाउन खोेजेको छ ।

निर्माता अर्यालले रोसम इङ्गिल बोर्डिङ स्कुल साथै सिद्धिदास सेकेण्डरी स्कुलका सानासाना नानीबाबुहरूको भूमिका रहेको यो गीति नाटक असोज १३ गते भक्तपुरको बाराही मुभिजमा बिहान ११ः३० मा प्रदर्शन गरिने जानकारी दिए । यो गीति नाटकले वर्तमान समाजमा अभिभावक र बालबालिकाबीच कस्तो सम्बन्ध रहनु पर्दछ भन्ने विषयलाई उजागर गरेको संयोजक राजिव बराइलीले बताउनुभयो ।

September 23, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *