काठमाडौं, असोज १३ । भैरहवा ग्लाडीयटर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । टियु क्रिकेट मैदानमा आज विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवाले पहिलो जित निकालेको हो । विराटनगरले दिएको ९० रनको सामान्य लक्ष्य भैरहवाले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । भैरहवाको जितमा उपुल थरंगाले अविजित रहदै सर्वाधिक ३४ रन बनाए ।
कप्तान शरद भेषवाकर ६ रन अविजित रहे । प्रदिप ऐरीले २२ रन जोड्दा तमिम इकबाल र रोहित पौडेलले समान १२/१२ रन बनाए । आरिफ शेख सुन्य रनमा आउट भए । विराटनगरका रामनरेश गिरिले २ विकेट लिए । करण केसी र बसन्त रेग्मीले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ४ बलमा अलआउट हुँदै ८९ रन बनाएको थियो । भैरहवाका बलर चम्किएको खेलमा विराटनगरका दिल्शन मुनाविराले सर्वाधिक २५ रन बनाए ।
सुमित महर्जनले १३ रन जोड्दा आसिफ शेख र अनिल साहले समान ११/११ रन बनाए । बसन्त रेग्मीले अविजित १० रन बनाए । सिकन्दर राजा ५ रनमा आउट हुँदा सौरभ खनालले ३ र रामनरेश गिरिले १ रन जोडे । कप्तान करण केसी, चन्द्रपउल हेमराज र प्रतिष जिसी सुन्य रनमा पेभेलियन फर्किए । भैरहवाका धम्मिका प्रसाद र आरिफ शेखले ३/३ विकेट लिए । अविनाश बोहराले २ तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले १/१ विकेट लिए ।
यस जितसँगै भैरहवाले २ खेलमा ३ अंक जोडेको छ । भैरहवा शीर्ष स्थानमा उक्लिएको छ । वर्षाको कारण खेल रद्द हुँदा पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग एक/एक अंक बाडेको थियो । पुछारबाट दोस्रो स्थानमा रहेको विराटनगरको यो लगातार दोस्रो हार हो । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्