जनता टाइम्स

१४ आश्विन २०७८, बिहीबार १८:०३

कांग्रेस–माओवादी त्यागेर दुहवीमा एकै वडामा ५ सय बढी युवा एमाले प्रवेश


दुहवी, १४ असोज । सुनसरी क्षेत्र नं. ३ मा विभिन्न पार्टी परित्याग गरी पाँच सय भन्दा बढी युवाहरु नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । कांग्रेस, माओवादी, जसपा लगायतका राजनीतिक दलहरुले मुलुकको विकास र जनताका आकांक्षालाई सम्वोधन गर्न नसक्ने भन्दै उनीहरु नेकपा (एमाले) मा प्रवेश गर्नुभएको हो।

दुहवी–९ छाताबेलीका ५ सय भन्दा बढी जनताहरु पार्टी प्रवेश गरेको नेकपा (एमाले) केन्द्रीय सदस्य भगवती चौधरीले बताउनुभयो । आज आयोजित कार्यक्रममा १ नम्बर प्रदेशका मुख्यमन्त्री समेत रहेका भीम आचार्य, भगवती चौधरी, प्रदेशसभा सदस्य निलम खनाल, रोहित कार्की लगायतले नव प्रवेशीहरुलाई अबिर तथा खादा लगाएर पार्टी स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा पूर्व तरुण दल वडा संयोजक ताबिज मिया, नइम अन्सारी लगायत कांग्रेसका पुराना नेता तथा कार्यकर्ता समेत एमालेमा प्रवेश गर्नुभएको हो । विगतमा नेपाली कांग्रेसमा रहेपनि छाताबेलीलाई काग्रेसले आफ्नो भोट बैंक मात्र बनाएकोले अब कसैको भोट बैंक बनेर बस्न नसकिने युवाहरु बताउनुहुन्छ । चुनाव जितेर गएका नेताहरु कार्यकालभरी एक पल्टपनि गाउँमा नआएको, गाउँमा समस्या, बेरोजगारी समस्या हल नगरेकोले छाताबेलीका अधिकांश युवाहरु निराश भएपछि अवको विकल्पको रुपमा एमाले छानेको उहाँहरु बताउनुहुन्छ ।

कार्यक्रमका प्रमुख अतिथी एमाले केन्द्रीय सचिवसमेत रहेका मुख्यमन्त्री आचार्यले जनताको बहुदलीय जनवाद विना मुलुकमा स्थायी शान्ति र समृद्धि हासिल गर्न नसकिने बताउँदै नेकपा एमालेले मात्र जनताको आवाज मुखरित गर्ने बताउनुभयो । २०७४ सालको निर्वाचनबाट मुलुकमा पहिलोपल्ट शक्तिशाली सरकार गठन भएपनि प्रतिगामी र यथास्थितिवादीहरुले ५ वर्षको म्यान्डेट पाएको सरकार ढलेको बताउनुभयो ।

मुलुकका सबै वर्ग क्षेत्र र समुदायको समान विकास गर्न र समाज रुपान्तरणको स्पष्ट कार्यदीशा नेकपा एमालेसँग मात्र रहेको प्रष्टयाउँदै अब पार्टीभित्र समेत युवाहरुलाई प्राथमिकताका साथ स्थान दिने बताउनुभयो । कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री भगवती चौधरीले जनताका जनजिविकाका सवालमा नेकपा एमालेले अपनाएको संमृद्ध मुलुक सुखी नेपालीको अभियान जारी रहेको बताउँदै अबको निर्वाचनमा जनताले पुनः जनमत दिने दावी गर्नुभयो ।

नेकपा एमालेलाई देशी विदेशी शक्तिहरुको सड्यन्त्रमा विभाजन गराएको बताउँदै नेतृ चौधरीले इतिहासले त्यसको पुष्टि गर्ने जिकीर गर्नुभयो । स्नीय विकास, युवा रोजगार, आत्मनिर्भरता र उद्यमशिलतामा पार्टीले विशेष ध्यान दिएको बताउँदै युवाहरुलाई स्वरोजगार बनाउन पार्टीले अभियान थाल्ने बताउनुभयो । मुलुकको विकासमा युवा पुस्ताको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै पार्टीभित्र पनि अब रुपान्तरणको खाँचो रहेको दावी गर्नुभयो ।

दुई तिहाईको सरकार ढालेर मुलुकको राजनीतिमा अस्थिरता निम्त्याएको बताउँदै उनले आउँदो निर्वाचनमा पनि जनताले ०७४ सालको जस्तै अभूतपूर्व जनमत दिने विस्वास समेत ब्यक्त गर्नुभयो । दुहवी–९ छाताबेली मुस्लिम बाहुल्यता भएको क्षेत्र हो । आर्थिक, सामाजिक रुपले पछि परेको क्षेत्रमा रहेका अधिकांश युवाहरु राजनीतिक परिवर्तनको पक्षमा देखिएका छन् । ‘यसअघि जसलाई नेतृत्वमा पुर्याइयो उसले यो ठाउँको लागि कुनै काम गर्न सकेनन् ।’ पार्टी प्रवेश कार्यक्रममा सहभागी एक युवाले भने–‘अब हामीलाई हाम्रो समाजलाई समेट्ने नेतृत्वलाई हामी साथ दिन्छौं ।’ उहाँले भन्नुभयो ।

एमाले नेतृ चौधरीको निर्वाचन क्षेत्रमा नेकपा एमालेले पार्टी विस्तार र संगठन सुदृढीकरणका कार्यक्रमलाई प्राथमिकताका साथ चलाईरहेको छ । यसअघि क्षेत्रका बर्जुगाउँपालिकामा समेत सयौं स्थानीय तथा युवाहरु पार्टी प्रवेश गरेका छन् । क्षेत्रमा युवा पुस्तासँगै प्रौढहरु समेत नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन् । दशकौंदेखि एउटै नेतृत्वको रजगजबाट पिल्सिएको यो क्षेत्रमा जनताले पटकपटक परिवर्तनका माग गरेपनि पद र सत्ताको सड्यन्त्रको शिकार भइरहेका छन् ।