जनता टाइम्स

१८ आश्विन २०७८, सोमबार २०:३१

बिधान महाधिवेशनले एमाले बिभाजन भएको छैन भन्ने तथ्यलाई पुनःस्थापित गर्यो : बिष्णु पौडेल


काठमाडौं, असोज १८ । एमाले उपमहासचिव विष्णु पौडेलले पार्टी बिभाजन भएको छैन भन्ने तथ्यलाई बिधान महाधिवेशनको उपस्थितिले पुष्टि गरेको बताउनु भएको छ । महाधिवेशनबारे सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले यस्तो तथ्य राख्नुभएको हो । विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको तथ्य उहाँले राख्नुभएको हो ।

विधान महाधिवेशनको उपस्थितिले, त्यहाँ भएको छलफलले र रिर्पोटिङपछि पार्टी विभाजन नभएको आफूहरूको निष्कर्ष सही सावित भएको उहाँले बताउनु भयो । ‘बिधान महाधिवेशनमा उपस्थिति र देशभरको तथ्यका आधारमा पार्टी बिभाजन भएको छैन भन्ने प्रमाणित गर्यो, तथ्यले बिभाजन छैन भन्ने देखायो,’ पौडेलले भन्नुभयो । पौडेलले अव पार्टीभित्र फरक मत नरहेको र आगामी निर्वाचनमा स्पष्ट बहुमत ल्याउने गरी ठोश योजना बनेको पनि बताउनु भयो । बिधान महाधिवेशनपछि एमालेमा बिचार समुह सकिएको र एकजुट बनेर बहुमत ल्याउने बाटोतर्फ एमाले अघि बढेको पौडेलले बताउनु भयो ।

उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसाबले एकतावद्ध रहेको तथ्य पनि राख्नुभयो । ‘पार्टीको औपचारिक, आधिकारिक निकायमा, कमिटीमा होला, महाधिवेशनमा होला । ती ठाउँहरूमा व्यक्तिले आफ्नो विचार व्यक्त गर्छ । कमिटीले अथवा अधिवेशनले निर्णय गर्छ । त्यो निर्णयमाथि कसैको असहमति रह्यो भने उसले औपचारिक रूपले बैठकको माइन्यूटमा दर्ज गर्नुपर्छ,’ बिधान महाधिवेशनको बिषयमा प्रष्ट पार्दै उपमहासचिव पौडेलले भन्नुभयो, ‘औपचारिक रूपमा दर्ज भयो भने त्यसलाई फरक मत मानिन्छ । कसैले औपचारिक रूपमा फरक मत राखेन भने ऊ पार्टीको निर्णयसँग सहमत भयो भन्ने मानिन्छ । हामीले यो प्रणाली नै विकास गरेका छौं ।’

पौडेलका अुसार यसपटक कुनै पनि नेताले कुनै पनि निकायमा फरक मत राख्नुभएको छैन । ‘यस पटक कसैले पनि पार्टीमा फरक मत राखेको होइन। स्थायी कमिटी, केन्द्रीय कमिटी र विधान महाधिवेशनमा विचार त सबैले व्यक्त गर्यौं । सबै ठाउँमा आफूलाई लागेका कुरा बोल्यौं,’ पौडेलले भन्नुभयो, ‘औपचारिक निर्णयसँग भने कोही पनि असहमत भएको र कसैले पनि फरकमत प्रस्तुत गरेको अवस्था होइन । त्यसकारणले पार्टीमा फरक मतको अवस्था नै छैन । पार्टी विचारमा, संगठनमा सबै हिसाबले एकतावद्ध छ ।’

पौडेलले माधव नेपाल कुण्ठाका कारण नयाँ पार्टीमा लागेको बताउनु भयो । स्वार्थवश, कुण्ठावश, इर्र्यावश केही मानिस अलग भएको भन्दै उहाँले भ्रममा परेर पार्टी छोडेकाहरू पुनः फर्किने क्रम सुरू भएको बताउनु भयो ।