काठमाडौं, असोज २४ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको कोटामा नियुक्त हुनुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मन्त्री हमालले आज राजीनामा बुझाउनु भएको हो ।
आज बिहान बालुवाटार पुगेर मन्त्री हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाउनु भएको हो । उहाँ शुक्रबार मात्रै मन्त्री नियुक्त हुनुभएको थियो । प्रधानन्यायाधीश जबराको ‘कोटा’बाट हमाललाई देउवाले मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला राजीनामा दिनुभएको हो । हमाल प्रधानन्यायाधीश जबराको जेठान हुनुहुन्छ । मन्त्री पदमा आफ्नो नियुक्तिलाई लिएर आमरुपमा प्रश्न उठेपछि नैतिकताको हिसाबले पनि पदमा बस्न उचित नहुने निष्कर्षमा पुगेकाले राजीनामा बुझाएको मन्त्री हमालले बताउनु भएको छ ।
‘संविधान र कानूनी राज्यका पक्षमा लामो लडाइँ लड्दै आएको व्यक्ति भएकाले अहिले संविधानमाथि नै सार्वजनिक रूपमा प्रश्न उठ्दा पदमा बसिरहन उपयुक्त लागेन,’ राजीमानमापछि हमालले भन्नुभयो ।
५ पुस २०७७ मा पहिलो पटक संसद विघटन भएपछि संवैधानिक परिषद्ले गर्ने नियुक्तिहरुमा भागबण्डा लिनुभएका जबराले दोस्रो विघटनपछि हमाललाई मन्त्री बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि दवाव दिनुभएको थियो । तर ओलीले अस्वीकार गर्नुभएको थियो । सर्वोच्च अदालतको २८ असारको आदेशअनुसार २९ असारमा देउवा प्रधानमन्त्री बनेपछि जबराले दुई मन्त्री माग्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्