काठमाडौं, असोज २८ । आज बडादशैंको टीकाको अघिल्लो दिन । अधिकांश नेपाली दशैं मनाइरहेका छन । आफ्नो मान्जयनसँगै भोलि शुक्रबार बडादसैँको टीका लगाइँदै छ । बडादसैँ नवदुर्गा भवानीको पूजाआराधना र मान्यजनको हातबाट टीका ग्रहण गरेर मनाइने गरिन्छ ।
गतवर्ष कोरोना भाइरसका कारणले सबै नेपालीले दशैं, तिहारजस्ता चाडपर्व राम्रोसँग मनाउने पाएका थिएनन । यस पटक संक्रमण पनि घटेको र प्रायजसोले कोरोनाविरुद्धको खोप लगाएको हुनाले सबै नेपालीले दशैं मनाउने छन ।
गतवर्ष संक्रमणका कारणले दशैं मनाउन नपाएका शीर्ष नेता यस पटक भने दशैं मनाउने तयारीमा छन । शीर्ष नेतामध्ये नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भाइको निधन भएकाले दसैँको टीका नलगाउने जानकारी दिनुभएको छ । दशैंको टीका नलगाए पनि एमाले अध्यक्ष ओली बिगत २७ बर्षदेखि गृहजिल्लामा नवमीका दिन चियापान आयोजना गर्ने परम्परालाई निरन्तरता दिनुभएको छ । अध्यक्ष ओलीले भाइको निधनको कारणले दशैं नमनाउने हुनुभएको प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो । अध्यक्ष ओली दशैं नमनाए पनि नवमीको दिन भने आफ्नो गृहजिल्ला झापा जानुभएको हो ।
यस्तै हालै मिर्गौला प्रत्यारोपण गराउनु भएका पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि यस पटक दशैंमा आराम गरिरहनु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दशैं काठमाडौंमा नै मनाउने हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँले दशैं मनाउनु हुनेछ । प्रधानमन्त्री देउवाले दशैंमा सबै सर्वसाधारणलाई टीका लगाउने कार्यक्रमसमेत रहेको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
यस्तै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दशैं काठमाडौंमा नै मनाउने हुनुभएको छ । नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार नेता नेपालले आफ्ना दाइ कृष्णकुमार पौडेलसँग टीका ग्रहण गर्नुहुनेछ । उहाँले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई पनि टीका लगाइदिने गौतमले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसवर्षको दशैं परिवारभित्र नै मनाउने हुनुभएको छ । परिवारमा उहाँले छोरीहरू, ज्वाइँ नातिनातिनीसँगै नै दशैं मनाउने तयारी गरेको प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभएको छ । प्रचण्ड यसपटक चितवन जाने नजाने अझै टुंगो भइसकेको छैन । ‘उहाँले दशैंमा घरपरिवारमा नै मनाउने गर्नुहुन्छ,’ सापकोटाले भन्नुभयो, ‘तर, यसपटकको ठ्याक्कै कार्यक्रम तय भएको छैन । अब चाँडै नै तय हुन्छ ।’ उहाँका अनुसार प्रचण्डले नेता तथा कार्यकर्तालाई भने टीका लगाउने छैनन् ।
यस्तै एमालेका पूर्व नेता वामदेव गौतमले यसपटक कोही सँगै पनि टीका लगाउने छैनन । माइजुबाट टीका लगाउँदै आउनु भएका गौतम यसपट माइजुको जुठो परेकोले टीका नलगाउने हुनुभएको हो । उहाँ माइजुभन्दा पहिले एमाले नेतृ साहना प्रधानसँग टीका लगाउँदै आउनुभएको थियो । उहाँका स्वकीय सचिव दीपक टमट्टाका अनुसार नेता गौतमले यसपटक परिवारमा नै दशैं मनाउने हुनुभएको छ । परिवारका सदस्यभन्दा बाहिर कसैलाई पनि उहाँले टीका लगाउने कार्यक्रम छैन ।
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले यसपटक दशैं घरमै परिवारसँगै नै मनाउने बताउनु भएको छ । उहाँले यसपटक आफू र अन्य नेता तथा कार्यकर्ता कसैलाई पनि टीका नलगाउने सचिवालयले बताएको छ । भारतको नयाँ दिल्लीबाट भर्खरै मिर्गौला प्रत्यारोपन गराएका आएका कारण उहाँलाई चिकित्सकले अझै तीन चार महिनासम्म कसैको सम्र्पकमा नजाने भनेकाले दसंैमा कसैलाई पनि टीका नलगाउनेस्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।
‘उपचार गराएर आएपछि उहाँ अहिले पनि आराम गरिरहनु भएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले यस पटकको दशैंमा उहाँ घरमै बस्नुहुन्छ । चिकित्सकको सल्लाहअनुसार संक्रमण फैलिने डरले उहाँ कसैको सम्र्पकमा जानुहुन्न । त्यसैले टीका कसैसँग पनि लगाउनुहुन्न र अरुलाई पनि लगाइदिनुहुन्न ।’ पहिले नेता खनाल दशैंमा गृहजिल्ला इलाम जाने गर्नुभएको थियो ।
यस्तै जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको दशैं काठमाडौंमा नै हुने भएको छ । उहाँ परिवारसँगै नै दशैं मनाउने तयारीमा हुनुहुन्छ । भट्टराईले आफ्नो बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गर्ने स्वकीय सचिव तथा केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।
यस्तै एमाले महासचिव इश्वर पोखरेलले काठमाडौंमै दशैं मनाउनु हुनेछ । यसैगरी नेता शंकर पोखरेलले गृहजिल्ला दाङमा दशैं मनाउनु हुनेछ ।दुवै नेताको सचिवालयले कार्यकर्तासँग भेटघाट गरेर दशैं मनाउने योजना बनाउनु भएको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्