जनता टाइम्स

२९ आश्विन २०७८, शुक्रबार ०७:५९

बडादशैंले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने राष्ट्रपतिको विश्‍वास


काठमाडौं, असोज २९ । राष्ट्रपति बिद्यादेवी भण्डारीले बिजया दशमीले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्‍वास लिएको बताउनु भएको छ । बिजयया दशमीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।

‘यस प्रकारका चाडपर्वहरूबाट नेपाली समाजको मौलिक पहिचानको रूपमा रहेको जातीय‚ भाषिक‚ भौगोलिक, सामाजिक र सांस्कृतिक विविधता बीच आपसी सद्‌भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्‍वास लिएको छु,’ राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

बडा दसैँ,२०७८ को शुभकामना सन्देश

नेपालीहरूको महान् चाड बडा दसैँ, २०७८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

बडा दसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी विजया दशमीका दिन प्रसादस्वरूप मान्यजनहरूको हातबाट टीका, जमरार आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेषरूपमा मनाउने गरिन्छ। नकारात्मक प्रवृत्तिका विरूद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको खुसीयालीमा मनाइने विजया दशमीको बडा दसैँ पर्वभित्र विशेष महत्त्व रहेको छ । वर्षाको हिलोमैलोपछि सुरम्य शरद् ऋतुमा मनाइने दसैँ पर्वशक्तिको उपासना‚ कृषि ‌औजार तथा हतियारको पूजा गरी मनाइने नेपालीहरूको मौलिक सांस्कृतिक चाड हो । यस पर्वको कृषिप्रधान नेपाली समाजको जीवनपद्धतिसँग समेत अभिन्नसम्बन्ध रहेको छ ।

यस प्रकारका चाडपर्वहरूबाट नेपाली समाजको मौलिक पहिचानको रूपमा रहेको जातीय‚ भाषिक‚ भौगोलिक, सामाजिक र सांस्कृतिक विविधता बीच आपसी सद्‌भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्‍वास लिएको छु ।
अन्तमा,बडा दसैँ पर्व, २०७८ ले हामी सबैमा नयाँ उत्साह‚उमङ्ग र सकारात्मक उर्जा थप्ने विश्‍वासका साथ कोभिड(१९ महामारीको संक्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्दै होसियारीपूर्वक दसैँ पर्व मनाउनका लागि सबैमा आग्रह गर्दछु।
धन्यवाद।
२०७८साल असोज २९ गते शुक्रबार ।