जनता टाइम्स

९ कार्तिक २०७८, मंगलवार २०:४१

खोटाङको दुई पालिकामा एमालेले छान्यो नयाँ नेतृत्व : दिक्तेल रुपाकोट मझुवागढीमा आचार्य, ऐसेलुखर्कमा राजभण्डारी


खोटाङ, कात्तिक ९ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेकपा एमालेको नगर कमिटी अध्यक्षमा गोपालचन्द्र आचार्य चयन हुनुभएको छ । १५ वडा रहेको नगरपालिकामा मंगलबार सम्पन्न नगर अधिवेशनबाट ३३ वर्षीय आचार्य एमालेको नगर कमिटी अध्यक्षमा सर्वसम्मत अध्यक्ष चुनिनु भएको हो ।

७५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा मनीचन्द्र राई, सचिवमा चित्रकुमार राई, उपसचिवमा लीला चौहान र बिनोद खड्का चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष आचार्य स्थानीय तह कार्यान्वयन पछिको पहिलो नगर अधिवेशनबाट पनि अध्यक्ष बन्नुभएको थियो । २०५६ सालमा पञ्च मावि दिक्तेलमा अखिल क्रान्तिकारीको सदस्य बनेर राजनीति थालेका आचार्य २०६७ सालमा एमाले प्रवेश गर्नुभएको हो ।

उहाँले युवा संघको जिल्ला सचिव, तत्कालीन दिक्तेल गाविसको एमाले अध्यक्षलगायतका भूमिका निर्वाह गरिसक्नु भएको छ । पार्टीको नीति अनुसार संगठनलाई मजवुद बनाउने र सबै वडामा पार्टीलाई पहिलो बनाउने नवनिर्वाचित अध्यक्ष आचार्यले बताउनु भयो ।

ऐसेलुखर्कमा राजभण्डारी

यस्तै, ऐसेलुखर्क गाउँपालिकाको एमाले पालिका अध्यक्षमा ३९ वर्षीय टेकेन्द्र राजभण्डारी चुनिनु भएको छ । पालिका कमिटीको उपाध्यक्षमा अरुण राई, सचिवमा माधव राई, उपसचिवमा सविन राई र बालकुमार राई चयन हुनुभयो ।

२०५२ सालमा अनेरास्ववियुको त्रिभुवन मावि ऐसेलुखर्कको सचिवबाट राजनीति थालेका राजभण्डारी २०६८ सालमा ऐसेलुखर्क गाउँ कमिटी अध्यक्ष, इलाका कमिटी सचिव हुँदै नेकपा हुँदा पालिका कमिटीको कार्यालय सचिव बन्नुभएको थियो । काठमाडौं बसिरहेका बेला २०६२र६२ सालको जनआन्दोलनमा सशक्त सहभागिता जनाउनु राजभण्डारीले संगठनलाई चुस्त दुरुस्त बनाउँदै आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो बनाउने प्रतिक्रिया दिनुभयो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङका अन्य पालिका अधिवेशनको बन्दसत्र जारी रहेको एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताउनु भयो । पालिका अधिवेशनले जिल्लाका ७५० नेताले नयाँ जिम्मेवारी पाउने छन् । एमालेको पालिका अधिवेशनबाट पदाधिकारीसहित ७५ सदस्यीय पालिका कमिटी गठन हुने व्यवस्था छ ।