जनता टाइम्स

१३ कार्तिक २०७८, शनिबार १२:२६

प्रचण्डलाई, रेणुलाई खेद्नुपर्छ भनेपछि कांग्रेस सभापतीसँग प्रचण्डले नराम्ररी चित्त दुःखाए


चितवन, कार्तिक १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापतीसँग नराम्ररी चित्त दुखाउनुभएको छ । उहाँले नेपाली काँग्रेसका सभापतीसँग चित्त दुःखाउनुभएके हो यता प्रचण्डको भनाईपछि चितवन कांग्रेस झन् रुष्ट बनेको छ ।

संसद्को आउँदो चुनावमा चितवनबाटै प्रतिस्पर्धा गर्ने बताएका माओवादी अध्यक्ष दाहालले सत्ता गठबन्धनकै सहयात्री दल कांग्रेसको जिल्ला नेतृत्वप्रति चित्त दुखाइ गर्नुभएको हो । दाहाल २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गरेर चितवन–३ बाट विजयी हुनुभएको थियो  । त्यसअघि भएको स्थानीय निर्वाचनमा उहाँकै निर्वाचन क्षेत्रअन्तर्गत पर्ने भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेससँगको तालमेलमा छोरी रेणु दाहाल विजयी हुनुभएको थियो । अहिलेको सत्तारूढ गठबन्धन चुनावसम्मै कायम रहने दाहालको भनाइ छ । तर, चितवन कांग्रेसको नेतृत्वले यो विषयमा फरक मत राखेको छ ।

केही दिनअघि भएको एक कार्यक्रममा कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले पुष्पकमल दाहाल र रेणु दाहालप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिनुभएको थियो । जिल्लाका अन्य कांग्रेस नेताहरूले पनि आउँदो निर्वाचनमा चितवनमा कांग्रेसका नेता–कार्यकर्ता, समर्थक, शुभचिन्तक र मतदाताले रूखबाहेकका चिह्नमा मत हाल्नुपर्ने अवस्था आउन नदिने बताउनुभएको छ । कांग्रेसका नेताहरूबाट चितवनमा व्यक्त हुन थालेको यो अभिव्यक्ति उचित नभएको दाहालको भनाई थियो । ‘मैले त सोच्थें कमसेकम चितवनका नेता–कार्यकर्ताहरू खुसी भए होलान्, उनीहरूले मलाई, माओवादीलाई धन्यवाद भन्लान्, अब हामी राम्रैसँग मिलेर जान्छम् भन्लान् भन्ने ठानेको त प्रचण्डलाई, रेणुलाई खेद्नुपर्छ भनेर यहाँका सभापतिहरूले बोले,’ उहाँले भन्नुभयो ।

आउँदो निर्वाचनमा चितवन कुरुक्षेत्र हुने उहाँको भनाइ थियो । भरतपुरमा शुक्रबार बिहान आयोजित कार्यक्रममा दाहालले भन्नुभयो ‘चुनाव आउँदै छ र यो चुनाव आउँछ, जान्छ भन्ने मात्रै ठानिएको छ भने त्यो सही हैन । यहाँ ठूलो लडाइँ हुँदै छ । महाभारत हुँदै छ ।’ कुरुक्षेत्र हुने भनेको हिंसा अशान्ति हुने हो भन्ने अर्थमा नबुझ्न उहाँले अपिल गर्नुभयो । तर विगतमा माओवादीहरुको क्रियाकलाप राम्रो नभएको हुदाँ उक्त कुरालाई नेपाली काँग्रेसले गम्भिर रुपमा लिएको एक नेताले बताउनुभयो ।