जनता टाइम्स

१३ कार्तिक २०७८, शनिबार १५:१८

प्रचण्डको नीति भनेको देश बर्बाद गर्ने हो : अध्यक्ष ओली


काठमाडौं, कार्तिक १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको नीति देश बर्बाद गर्ने भएको आरोप लगाउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको दर्शन भनेको धक्का, क्रमभंग, छलाम, महाअभियोग रहेको बताउनुभयो । उहाँले भन्नुभयो भने, ‘यस भित्र के रचनात्मक कुरा छ र ? एमालेमा आउँदा सपारियला कि भनेको सकिएन।’ ओलीले १० बुँदे कार्यान्वयन रचनात्मक ढंगले गरिने बताउनुभयो । ओलीले पार्टी एकताका लागि १० बुँदेको कार्यान्वयन गर्ने स्पष्ट पार्नुभयो। ‘मुख्य कुरा पार्टी एकता हो। १० बुँदेको कार्यान्वयन रचनात्मक ढंगले कार्यान्वयन गर्छौ। १० बुँदे माधव नेपाललाई जान नदिन बनेको थियो। तर, माधव नेपालले मानेनन्। माधव नेपाललाई ल्याउन स्वागत गेट बनाइयो। घर बनाइयो। आराम गर्नका लागि सोफाहरु बनाइयो। तपाइहरुले सुन्नुभयो होलानी १० बुँदे। यी सबै कुरा माधव नेपालका लागि बनेका थिए। फर्किने ठाउँ चाहियो भनेर १० बुँदे बनाइयो। तर, उनले मानेनन्।’ ओलीले भन्नुभयो, ‘हामी १० बुँदेको कार्यान्वयन गर्छौं। र, अगाडि बढ्छौं। मुख्य उद्देश्य एकता हो। एकताको आवश्कयता अनुसार जेठ २ मा पनि फर्किन तयार छौं। ’ उहाँले समझदारीमै एकता गरिने बताउनुभयो ।