जनता टाइम्स

१३ कार्तिक २०७८, शनिबार १७:३०

आफ्नो पदीय कर्तव्य पालना नगर्ने सभामुख सापकोटा संसद्‍मा आउन पाउनु हुँदैन : अध्यक्ष ओली


काठमाडौँ, कार्तिक १३ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई संसद्का कलंकको संज्ञा दिनुभएको छ । एमाले सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्चको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उहाँले सापकोटाप्रति आक्रोश पोख्नुभएको हो ।

एमालेले १४ सांसद्‍माथि गरेको कारबाही सदर नगरेको तथा आफू प्रधानमन्त्री हुँदा संवैधानिक परिषद्को बैठकमा नआएको आक्रोश ओलीले एमालेका सिन्धुपाल्चोकस्थित कार्यकर्तामाझ पोख्नुभएको हो । “अग्नि सापकोटा जस्ता संसद्का कलंकले निर्वाचित भएर संसद्‍मा पाइलो टेक्नु हुँदैन, उनको कुनै मर्यादा छैन,” ओलीले भने,“उनी पुष्पकमल दाहाल‘प्रचण्ड’को इशारामा एमालेविरुद्धको षड्यन्त्रमा लागेका छन् ।”सापकोटाले संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएर आफ्नो मर्यादा भुलेको पनि उहाँले आरोप लगाउनुभयो ।

“आफ्नो पदीय कर्तव्य पालना नगर्नेले संसद्‍मा आउन पाउनु हुँदैन,” उहाँले भन्नुभयो ,“सिन्धुपाल्चोकमा एमालेले दुवै संघीय सांसद र चारवटै प्रदेश सांसद जित्नुपर्छ । प्रत्यक्षमा भन्दा समानुपातिकमा धेरै भोट ल्याउनुपर्छ ।”ओलीले आफ्नो पार्टी एमालेका विरोधीहरु वास्तवमै देश विरोधी भएको बताउनुभयो । “हाम्रो विकासको अभियान देखेर हाम्रा विरोधीहरु आत्तिएका छन् । एमाले विरोधी भनेको वास्तावमा देश विरोधी हो । राष्ट्रियता विरोधी हो । किन एमाले सरकार ढाल्नुपर्यो ?” उहाँले भन्नुभयो ।ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी सामेल गरेर नक्सा छापिएपछि विरोधीहरुले सरकार नढाली नहुने कसम खाएको बताउनुभयो । सो नक्सा छापिएपछि विरोधीहरुको छाती हुरहुर जलेको उहाँको भनाइ थियो ।