बुद्धिजीवी जब बुद्धिहीन, विवेकहीन, अत्यन्त अस्थिर र असन्तुलित हुन्छ तव देश भड्खालोतिर जानसक्छ । अक्सर पिँध बिनाका लोहोटाहरु चरम अस्थिर हुन्छन । नेपालमा कोही सद्दे छैनन् भन्ने आन्तरिक र वाह्य शक्तिका प्रायोजित विचारलाई स्थापित गर्न दीक्षितजस्ता पण्डितहरु कम्मर कसेर लागेको स्पष्ट हुन्छ । नत्र देशमा सबै नराम्रो मात्र किन देख्छन दीक्षितहरु ? दीक्षित आफैँमा र उनको घरमा बत्तिस लक्षण छ ?
राष्ट्रपतिले संवैधानिक भूमिका निर्वाह गर्ने हो । एउटा डाक्टरले रोग पत्ता लगाएर सही दवाइ दिने हो अनि रोगीले जथाभावी खाएर र गरेर उल्टो आफ्नो स्वास्थ्य बिगारेको दोष डाक्टरलाई दिन मिल्छ ? ओलीका पालामा राष्ट्रपतिविरुद्ध तीन बित्ता उफ्रिने दीक्षित अझै मत्थर भएको देखिएन । अझ दीक्षितले फेक बोली बचन, विचार र विश्लेषणका कारण राष्ट्रपति विरोधी सरम लाग्दो चरम आक्षेप लगाएर गणतन्त्र विरोधी वातावरण बनाउन र फैलाउन खोजिरहेको स्पष्ट हुन्छ
प्रा.डा.बद्रीविशाल पोखरेल
डा. सुन्दरमणि दीक्षित कहिले प्रचण्डलाई देवत्वकरण गर्थे, अहिले दानवीकरण गर्छन । अलिपछि फेरि उनलाई देउता मान्न पनि सक्छन । दीक्षित राजनीतिको अठार बक्ररेखा नै नबुझी औताएर जथाभावी बोल्छन । यसरी हेर्दा विश्लेषक हुने रहरका मारे दीक्षितमा बहुआयामिक गहन राजनीतिक चिन्तन फिटिक्क पाइन्न । सोझै राजा वा संवैधानिक राजाको पक्षपोषण नगरे पनि अहिले चरम निराशा देशमा व्याप्त भएको मनगढन्ते फतुर अलापेर दीक्षित प्रतिगमनको पक्षपोषण गर्छन । सौरभजस्ता विज्ञहरुले बोलेका कुराहरु अकाट्य हुन्छन तर दीक्षितका बोली र विश्लेषण बर्खे पानीका फोका सरह छिनछिनमा फुट्छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले राजासहितको लोकतन्त्रको अपरिहार्य स्थिति उल्लेख गरेको र यसलाई एकाध कठमुल्लावादी तथा सही कम्युनिस्ट आन्दोलन विरोधी नेताले समर्थन गरेको विषय दीक्षितले उठाएका छन । आखिर दीक्षित परिवार राजदरवारको सेरोफेरोमा हुर्किएको हुँदा यस परिवारका कतिपय बृद्ध अवस्थाका पण्डितहरुमा सामन्तवादी दास सांस्कृतिक अवशेष पर्याप्त रुपमा पाइन्छ । यस्तै प्रसंगमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति मदनमणि दीक्षितले ०४६ सालको पूर्वसन्ध्यामा राजा वीरेन्द्र शाह सितको एक भेटघाटमा राजाले उनलाई तपाईं भनेकै आधारमा फर्किएर दीक्षित मख्ख परेछन र राजालाई दरवारी भाषा प्रयोग गर्दै हात मोल्दै आन्दोलनकारीले भनेका सबै कुरा मान्नु हुन्न भनेर बिन्ती बिसाएको कुरा एक प्रसंगमा जननेता मदन भण्डारीले नै उल्लेख गर्नुभएको छ ।
सदियौँदेखि गिदीमा लिदी सरह जमेर बसेको सामन्तवादी दास साँस्कृतिक जड चेतनाका कारण कतिपय पठित विद्वान्हरु दास हुन राजी हुन्छन । तिनीहरु आफू स्वाभिमानी नागरिक भएकामा त्यति गर्व गर्दैनन । पश्चगामी आदत र आग्रहका दासहरुमा प्रायः अग्रगामी चेत र व्यवहार शून्य हुन्छ । ठीक त्यस्तै डा. सुन्दरमणि दीक्षितहरु केपी ओली सरकारका दुरगामी महत्वका विकास निर्माणका बहुआयामिक कामहरु पटक्क देख्दैनन । तर नेपाली चेलीहरुले पूर्वराजाका पाउ पखालेकामा चुइक्क बोल्दैनन ।
भृकुटी अनलाइन टेलिभिजनमा तीन दिनअघिको अन्तवार्तामा डा. सुन्दरमणि दीक्षितले राष्ट्रपतिविरुद्ध सर्वथा असुन्दर तथा अत्यन्त भद्दा आक्षेप लगाउँदै थिए । कतिपय मिडियाले चर्चित राजनीतिक विश्लेषक बनाइएका दीक्षित पछिल्लो राजनीतिक परिदृश्यका बारेमा सतही टिप्पणी गर्दै थिए । दीक्षित अहिले भइरहेका भनेर ओलीले संविधानसम्मत गरेको प्रतिनिधि सभा विघटनलाई मूल आधार बनाएर कटाक्ष गर्दै थिए । उनले ओली कालदेखि अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारका समग्र नकामहरुलाई कुकर्म भन्दै यसको मूल दोषी महामहिम राष्ट्रपति हो भन्दै थिए । यसरी मूल दोषी करार गरेर दीक्षित परोक्षतः राजा वा राजतन्त्रको पक्षपोषण गर्दै थिए । राष्ट्रपतिका विषयमा यस्ता भद्दा आक्षेप दीक्षितले बारबार लगाएको देखिन्छ ।
चिरफारका विज्ञ भए पनि राजनीतिक विश्लेषणमा डा. दीक्षित अत्यन्त अराजक भन्न मिल्ने अस्थिर रहेको विश्लेषणहरुबाट स्पष्ट हुन्छ । यो कुरा प्रसिद्ध लेखक तथा विश्लेषक सौरभले डा. दीक्षितका असंयमित विश्लेषणलाई स्पष्ट संकेत गर्दै आलोचना गर्नुभएको थियो । प्राडा टङ्क प्रसाद न्यौपानेले पनि दीक्षितको विश्लेषण स्तरहीन बताएका छन । नबोल्ने राष्ट्रपतिलाई मनपरी भन्न पाइन्छ भनेर तथानाम भन्न दीक्षितलाई सरम लाग्नुपर्ने हो । तर एक सज्जनले भनेझैँ दुर्जनले बदलाको भावना लिन्छ, बलशालीले माफ गरिदिन्छ तर असल मानिसले बिर्सिदिन्छ भनेझैँ राष्ट्रपतिले दीक्षितका उपर्युक्त खालका दुर्वाच्य र दुर्वचन सुनेर फिस्स हाँसिदिनु हुन्छ । शायद उहाँलाई उमेरले एउटा अभिभावक सरहको व्यक्तिले अत्यन्त हलुका टिप्पणी गरेको देखेर दीक्षितप्रति दया लाग्दो हो ।
दीक्षितले २०७६ भाद्र २३ गते एक अखबारको आलेखमा ओली सरकारका पालाका एउटा पनि सकारात्मक कामको चर्चा गरेनन । उनले मेलम्ची खानेपानी नआएकामा ओली सरकारको उछित्तो काडे तर पानी आएपछि पानी खाए कि खाएनन ? सोध्नु पर्ने भएको छ । यतिका उमेर बिताएका डाक्टरले यति साह्रो बचकना कुरा गरेको देखेर छक्क लाग्छ । अझ दीक्षितले प्रतिगमनको वा ज्ञानेन्द्र शाहको कपोलपल्पित पुनरागमनको त्रास फैलाएर ओली सरकारले आफ्नो गल्ती ढाकछोप गर्न खोजेको पानीमा खै के गरेजस्तो कुरा गरे । हिजोका दिनमा पनि राष्ट्रपति भण्डारीको भव्य, सभ्य, सौम्य, संवैधानिक तथा शालीन व्यक्तित्व देखेर रिस र डाहका कारण दीक्षितले राजतन्त्र फर्केझैँ मात्र भनेनन, उल्टो बेलायतकी महारानी भिक्टोरियाझैँ नयाँ अवतार प्रकट भएको भनेर राष्ट्रपतिप्रति भद्दा आक्षेप लगाएका थिए ।
जिउडाल र हिसी परेको मानिसलाई जस्तो लुगा लगाउँदा पनि खुल्छ । अझ त्यसमा पनि कालो चश्मा लगाएपछि सौन्दर्य अझ प्रस्फुटित हुन्छ । तर सिसाकलम जस्ता जिउडाल भएका मानिसले जतिसुकै राम्रा लुगा लगाए पनि सिँगौरामा झुण्ड्याएझैँ देखिन्छ । अब के गर्नु ? राष्ट्रपतिले आफ्नू संवैधानिक हैसियत अनुसार सरल र सादगी जीवन बिताउँदा पनि दुराग्रह पाल्नेसित के भन्न सकिन्छ र ? हद दर्जाको निकृष्ट महिलाद्वेषी चरित्र भएका कथित मानवहरु आमा, दिदी, वहिनी र छोरीहरुको प्रगति देखेर तर्सिन्छन । छोरी जन्मिदा रुने, छोरीलाई छोरा सरह अंश र वंश दिनु पर्दा मुर्छा पर्ने मानसिकताका पितृसत्तात्मक ग्रन्थीग्रसित मनुवाहरु आफ्नै कोखलाई पनि सराप्छन् । पढ्नका लागि पढ्ने, पाण्डित्य प्रदर्शन गर्न पढ्ने, पैसा कमाउन र भात खान पढ्ने र प्रमोशनका लागि पढ्ने तथा नामका अगाडि डा. झुण्ड्याउने कतिपयको मति समाज परिवर्तनका लागि किमार्थ हुँदोरहेनछ । दीक्षितले भनेझैँ यस देशमा चरम निराशा व्याप्त भएको दीक्षितजस्ता नाम मात्रका फेक विश्लेषणका कारण उत्पन्न भएको हो ।
बुद्धिजीवी जब बुद्धिहीन, विवेकहीन, अत्यन्त अस्थिर र असन्तुलित हुन्छ तव देश भड्खालोतिर जानसक्छ । अक्सर पिँध बिनाका लोहोटाहरु चरम अस्थिर हुन्छन । नेपालमा कोही सद्दे छैनन् भन्ने आन्तरिक र वाह्य शक्तिका प्रायोजित विचारलाई स्थापित गर्न दीक्षितजस्ता पण्डितहरु कम्मर कसेर लागेको स्पष्ट हुन्छ । नत्र देशमा सबै नराम्रो मात्र किन देख्छन दीक्षितहरु ? दीक्षित आफैँमा र उनको घरमा बत्तिस लक्षण छ ?
राष्ट्रपतिले संवैधानिक भूमिका निर्वाह गर्ने हो । एउटा डाक्टरले रोग पत्ता लगाएर सही दवाइ दिने हो अनि रोगीले जथाभावी खाएर र गरेर उल्टो आफ्नो स्वास्थ्य बिगारेको दोष डाक्टरलाई दिन मिल्छ ? ओलीका पालामा राष्ट्रपतिविरुद्ध तीन बित्ता उफ्रिने दीक्षित अझै मत्थर भएको देखिएन । अझ दीक्षितले फेक बोली बचन, विचार र विश्लेषणका कारण राष्ट्रपति विरोधी सरम लाग्दो चरम आक्षेप लगाएर गणतन्त्र विरोधी वातावरण बनाउन र फैलाउन खोजिरहेको स्पष्ट हुन्छ ।
तर झुटो टिक्तैन भनेझैँ एमाले र ओलीविरुद्ध जेहाद छेडेर लागे पनि यो पार्टी अझ सबल र सशक्त रहेको देशव्यापी वार्ड अधिवेशनको उपस्थिति र उत्साहले उजागर गरेको छ । तथ्यहरुले दीक्षितहरुका झुटा कुरा पानीका फोका सरह फुट्छन् र फुटिरहनेछन् । राष्ट्रपतिले यस्ता छिचरा विचारको प्रतिवाद गर्ने कुरा भएन र हुँदैन । बुद्धले आफूसित भेटेर तथानाम भन्न पठाइएका र बुद्धसित मुखमुखै लागेका एक व्यक्तिलाई उल्टै बुद्धले यतिका भारी कोसली लिएर आउनु भयो । ती सबै कोसेली आफैँ लिएर जानुहोस भनेका थिए । याद होस दीक्षितजी तमाम नेपालीको आस्थाको केन्द्र हो राष्ट्रपति वा गणतन्त्र । त्यसैले अब आइन्दा यसरी नै मुख छाडेर बोलेको थाहा भयो भने चुप्प लगाउने गरी वा जिब्रो नै थुत्ने हैसियतले बौद्धिक प्रतिवाद प्रा.डा पनि यस मुलुकमा छन् । हद भए पनि यसरी कलम चलाउनु परेको हो । कृपया पाठकबृन्द हामीले रगत र पसिना बगाएर ल्याएका उपलब्धिलाई जसकसैले पनि पानी फेर्न खोज्छ भने त्यसलाई कदापि स्वीकार्न हुँदैन ।
यस्ता तुच्छ वचनलाई समयमै दुत्कार्नु पर्छ । नत्र यस्ता कुराहरु प्रोत्साहित हुने खतरा हुन्छ । पूर्वराष्ट्रपति डा. रामबरण यादवका अनेक असंवैधानिक गतिविधिमा मौन साधना गर्ने दीक्षित महिला राष्ट्रपति भएकै कारण असंयमित भएर बोलेका हुन । दीक्षित देशमा केही पनि भएन भन्छन । नेहरी भन्छन कि हेरेर पनि नदेखी भन्छन । भारत प्रयोजित नाकाबन्दीलाई कुनै पार्टीले नाकाबन्दीसम्म भन्न सकेनन तर त्यसलाई असफल पार्न ओली नै अघि सर्नुभयो । यसमा भारतीय शाषक झुक्न बाध्य भयो । सूर्य चन्द्र रहुन्जेल हुन नसक्ने ठानिएको चीनसित पारबहन सन्धी पनि ओलीकै पालामा सम्पन्न भयो । ओली आगमनसँगै संसदमा प्रायोजित गरिएका अनेक रुप, रङ्ग र ढङगका ककसहरु बिलाए । ओलीले नै मन्त्री, माननीय र पार्टी नेताहरुलाई अमुक कर्मचारी, प्रहरी, प्रशासकहरुको बढुवाका फाइलहरु लिएर नहिड्न निर्देश गर्नुभयो ।
सरकार सञ्चालन गरिरहँदा कुनै पनि मन्त्रालयमा बिचौलियाहरुको चलखेल नहोस भनेर नियन्त्रण र सन्तुलनको लगाम ओली आफैले खिच्नुभयो, अनुगमन माथि अनुगमन गर्ने व्यवस्था गर्नुभयो । ओलीले देशमा एउटा आशा र भरोसा सिर्जना गरिदिनु भयो । परराष्ट्र नीति र सम्बन्ध पहिले कहिल्यै नभएको समदूरी र मैत्री सम्बन्ध विकास भएको पहिलेको स्थिति थियो । तर नक्सा समावेश गरेर मात्र हुन्छ भन्ने ओठेसवाल गर्ने दीक्षित देउवा सरकारका हालका देशको स्वाधीनता, भारतेली शाषकको नेपाली जनता विरोधी हर्कत देख्दैनन् कि क्या हो बोल्दैनन त ?
दीक्षितले ०७८ भाद्र ३१ गते पत्रकार धमलासितको अन्तर्वार्तामा ओली सरकारका बारेका विगतमा आफूले गरेका पाँडेगाली वा कटाक्षप्रति आत्मालोचना गरेझैँ गर्दै थिए । यसरी होस नराखी बोल्दा भोलिका दिनमा धुृरुधुरु रुने दिन आउन सक्छ । जस्तो प्रधान्यायाधीशलाई संविधानविरुद्ध उक्साउन कलाकतुत कोटहरु अहिले बीच सडकमा छाती पिटीपिटी रोइरहेका छन् ।
ओली नेतृत्वको सरकारविरुद्ध माधव नेपाल यतिसम्म गिर्लान भन्ने नसोचेको भन्ने दीक्षितलाई राम्ररी नबुझी नबोल्न यो लेखक सल्लाह दिन्छ । अहिलेको जस्तो असंवैधानिक तथा खरिदबेचको संसदीय घृणित राजनीति ओलीले उहिल्यै देख्नुभएको थियो । दस बीस वर्ष पछिको दृश्य पनि नदेख्ने विश्लेषक के विश्लेषक ? जननेता मदन भण्डारी जस्ता नेताहरु सय वर्ष पछिको नेपालको भविष्य देख्छन । एक्सरे हेरेर चिरफार गर्नु जस्तो सुदुरदृष्टि राखेर देशको भविष्य आँकलन गर्ने कुरा त्यति सजिलो हुँदैन । राजनीति क्षेत्रको डाइग्नोसिस र अपरेसन मान्छेको घुँडा चिरेजस्तो सजिलो हुँदैन दीक्षितजी । ओलीलेझैँ नेपालको भूराजनीतिक अत्यन्त संम्वेदनशीलता पटक्क नबुझ्ने आन्तरिक र बाह्य राजनीतिक दुश्चक्र नै देशको अस्थिरताको मूल कारण हो भन्ने बुझ्न दीक्षितलाई अरु एक जुनी लाग्न सक्छ । किनभने यस देशको सरकार र शासन सत्तालाई जहिले तहिले क्षतविक्षत पार्ने शक्तिहरु काठमाडौँमा घुमिरहेका छन् ।
खुलमखुल्ला नृशंस दरवार हत्याकाण्ड मच्चाउनहरु के केसम्म गर्न सक्छन् भन्ने आकलन गरेर नेपाल र नेपालीलाई एकताबद्ध गराउनको बदला क्षिद्र खोजीखोजी भ्वाङ पार्न उद्यत दीक्षितहरुले अहिलेसम्म पनि बुझेनन । मिडियामा मुख देखाउन पाएर सस्तो लोकप्रियताका नाममा बुद्धि विलास गर्न उद्यत यस देशका कतिपय लेखन्ते, घोकन्ते र रटन्तेहरु देशको शान्ति, स्थिरता र एकताका लागि सबै भन्दा खतरा हुन् । ओलीले भनेझैँ यिनले देशको भलोका लागि एक शब्द बोलेनन तर तास फिटेझैँ व्यर्थका बतासे कुरा फिटेर यिनको जिन्दगी खेर जाने भयो । सूचना र ज्ञानको संकीर्ण घेरामा बन्धक बनेको मानिसले परिस्थितिको ठोस आकलन नै गर्न सक्तैन । त्यसैले ओलीले दुई तिहाइको आफ्नै सरकार बचाउन नसकेको दीक्षितको बालहठ देख्दा लाज र सरम लाग्छ ।
ओली आगमनसँगै संसदमा प्रायोजित गरिएका अनेक रुप, रङ्ग र ढङगका ककसहरु बिलाए । कृपया भावी सन्ततिका लागि पनि राम्रा कुरा नदेख्ने गल्ती नगरौँ, यति विघ्न बैगुनी नबनौँ । अहिले राजा ल्याउने वा आउने हल्ला राजा वा राजतन्त्रलाई देशलाई र यस देशको भाग्य भण्विष्यको माया गरेर होइन । देशलाई फेरि पनि अस्थिरताको दलदलमा पार्नका लागि हो । राजदरबारमा नृशंस हत्या गर्ने गराउने आन्तरिक र बाह्य तत्वहरु यो देशमा चरम अस्थिरता चाहन्छन् । एमाले वा ओली सरकारले गरेका कामहरु देखेर यसलाई कसरी किनारा लगाउने भन्ने कुनियतबस उग्रवाम तथा उग्रदक्षिणपन्थीहरु बाह्य इसारामा अर्को षडयन्त्रका लागि तयार हुन थालेको स्पष्ट संकेत देखिन्छ ।













प्रतिक्रिया दिनुहोस्