काठमाडौं, कात्तिक १७ । एमाले सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी अबैध गर्भधारणबाट जन्मिएको कारण एमालेले नचिन्ने बताउनु भएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन लागेको दशौं महाधिवेशनको बिषयमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले माधव नेतृत्वको पार्टी बैध नभएकोले एमालेले महाधिवेशनमा निम्तो नदिने प्रष्ट पार्नुभयो ।
‘हाम्रो पार्टीको महाधिवेशनको उदघाटन समारोहमा मुलुकका प्रमुख राजनीतिक दललाई आमन्त्रण गर्ने हो, त्यो प्रमुख दल कुन कुन हुन भन्ने प्रष्टै छ, कतिपय राजनीतिक दल पहिचान हुन नसकेको र ठेगानासमेत थाह नभएको, कतिपय अबैध रहेको देखिन्छ, पहिचान नखुलेको र अबैध गर्भधारणबाट जन्मिएको पार्टीलाई एमालेले चिन्दैन,’ माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी अबैध पार्टी रहेको भन्दै सचिव भट्टराईले भन्नुभयो, त्यसरी संबिधान मिचेर अबैध गर्भधारणबाट बनेको पार्टीलाई महाधिवेशनमा बोलाइरहनु पर्छ भन्ने हामीलाई लाग्दैन, बोलाइन्न पनि ।’ एमालेले महाधिवेशनमा स्वदेश तथा बिदेशका बिभिन्न राजनीतिक दलहरुलाई महाधिवेशनमा आमन्त्रण गरेको छ ।
‘दशौं महाधिवेशनमा विदेशी पाहुनाहरुलाई सहभागी बनाउन पत्राचार गरिएको छ । यसका लागि नेकपा (एमाले)सँग भाइचारा सम्बन्ध रहेका विभिन्न मुलुकका पार्टीहरु, मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टीहरु, दक्षिण एसियाका सत्तारुढ दल र विपक्षी दलहरु तथा आइक्याप (आईसीएपीपी)का स्थायी कमिटीका सदस्यहरुलाई निमन्त्रणा गरिएको छ । निमन्त्रणा गरिएका पार्टीहरुबाट सकारात्मक सन्देश प्राप्त भएको पनि जानकारी गराउन चाहन्छौं । यस्तै नेपालका प्रमुख राजनीतिक दलहरुलाई पनि निमन्त्रणा गरिनेछ । यसैगरी नेपालस्थित विभिन्न कूटनीतिक निकायका प्रमुखहरुलाई पनि दशौं महाधिवेशनमा निमन्त्रणा गरिनेछ,’ भट्टराईले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्