काठमाडौं, मंसिर ५ । नेपाल प्रहरीका केही प्रहरी नायव महानिरीक्षक (डीआइजीपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को काज सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गरी डिआइजीपी र एसएसपीको काज सरुवा गर्नुभएको हो ।
गृहमन्त्री खाँणले लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजीपी मुकुन्द आचार्यको चार महिनामा नै काज सरुवा गर्नुभएको छ । आचार्यलाइृ लागू औषध नियन्त्रण ब्यूरोमा सरुवा गरिएको हो । यस्तै लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा डीआइजीपी प्रकाश अधिकारीलाई पठाइएको छ । अधिकारी प्रहरी प्रधान कार्यालय मातहत रहेको प्रबन्ध निर्देशनालय कार्यरत हुनुहुन्थ्यो । उहाँको ठाउँमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजीपी वसन्तकुमार लामालाई पठाइएको छ ।
त्यस्तै, महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरका एसएसपी पनि फेरिएका छन् । काठमाडौं परिसरमा एसएसपी सुदीप गिरी तथा ललितपुर परिसरमा एसएसपी यज्ञबिनोद पोखरेललाई पठाइएको छ ।
काठमाडौं परिसरका एसएसपी सिंहको भरतपुर तालिम केन्द्रमा सरुवा भएको छ भने ललितपुरमा कार्यरत किरण बज्रचार्यलाई प्रहरी प्रधान कार्यालयस्थित अन्वेषण योजना निर्देशनालयमा सरुवा गरिएको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट एसएसपी दिपक थापालाई तालिम निर्देशनालयमा सरुवा गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्