जनता टाइम्स

१२ मंसिर २०७८, आईतवार ०९:०८

महाधिवेशनपछिको एमाले : चुनौति र सम्भावना


एमाले र ओलीविरुद्ध सार्वजनिक रुपमा प्रोपगण्डा गरेर कतिपय लेखक, कवि र पत्रकारले समेत समवेत स्वरमा स्याल हुइयाँ गरिरहे, नानाथरि फतुर आरोप लगाएर कमजोरी खोजे । जो चोर उसैको ठूलो सोर भनेझैँ देशी विदेशी शक्ति र स्वार्थहरुको गठबन्धनमा धर्ती र आकास च्यात्तिने गरी तिनीहरु चिच्याइरहे । तर सत्य डगेन, झुटो टिकेन । देश र जनता विरोधीहरुको दुष्प्रचार जनताले समयक्रममा व्यवहारबाटै पत्याएनन । ओलीलाई प्रतिगामी भन्नेहरु देश, जनता, जनसरोकार, संसदीय मूल्य मान्यता तथा देशकै विरुद्ध कति घृणित रुपामा लग्दा रहेछन भन्ने सर्वोच्च अदालतमा तिनको नग्न नृत्य हेर्दा थाहा भयो

प्रा.डा. बद्रीविशाल पोखरेल

वरिपरि शत्रु बीचमा एमाले,
जनताकै समर्थनमा उठ्छ एमाले

(मिथिला पोखरेल, चक्रपथः २०७८ असोज २)

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा जनताको जुन सुम्ुद्र लहर देखियो त्यसका पछाडि जननेता मदन भण्डारी र जबजको महत्वपूर्ण र आधारभूत भूमिका देखिन्छ । एमालेविरुद्ध विश्व प्रतिक्रियावादीको भरिया भएर माधव र प्रचण्ड ज्यान फालेर लागे । अझ यसमा माधव प्रवृत्ति नै जबज र जननेता मदन भण्डारीविरुद्ध ज्यानी दुष्मन भएर परिचालित भए । एमाले र ओलीविरुद्ध सार्वजनिक रुपमा प्रोपगण्डा गरेर कतिपय लेखक, कवि र पत्रकारले समेत समवेत स्वरमा स्याल हुइयाँ गरिरहे, नानाथरि फतुर आरोप लगाएर कमजोरी खोजे । जो चोर उसैको ठूलो सोर भनेझैँ देशी विदेशी शक्ति र स्वार्थहरुको गठबन्धनमा धर्ती र आकास च्यात्तिने गरी तिनीहरु चिच्याइरहे । तर सत्य डगेन, झुटो टिकेन । देश र जनता विरोधीहरुको दुष्प्रचार जनताले समयक्रममा व्यवहारबाटै पत्याएनन । ओलीलाई प्रतिगामी भन्नेहरु देश, जनता, जनसरोकार, संसदीय मूल्य मान्यता तथा देशकै विरुद्ध कति घृणित रुपामा लग्दा रहेछन भन्ने सर्वोच्च अदालतमा तिनको नग्न नृत्य हेर्दा थाहा भयो । सुस्ता, महाकाली लगायत नेपाली भूभाग, आकास र नेपाली नागरिकको हत्या जस्ता विषयमा गठबन्धन सरकार र दल मौन बस्ने मात्र होइन, बोल्न पनि सक्तैन ।

नाकाबन्दीका बेला नाकाबन्दी पनि भन्न नक्नेहरुको खुट्टी पहिले नै देखिएकै थियो । यस्तै दुर्दशा देखेर ०७ देखि ०१६ सम्म महाकवि देवकोटाले लेखेका पागल शीर्षक लगायत कवितामा निर्लज्ज नेतृत्वको नीरस रसनाको रण्डीको नाच हेर, जनअधिकारको डँडेल्नाको भाँच हेर भन्नुभएको थियो । नयाँ जमाना शीर्षकको कवितामा देवकोटाले प्रजातन्त्रिक पार्टी भनी कहलिएका विलासी र गिलासी नेताको हुर्मत लिनुभएको छ । त्यसैगरी कम्युनिस्ट पार्टीको खोल भिरेका सत्ता, शक्ति र सम्पत्तिका लागि देशलाई नै बन्धक बनाउन उद्यत नेताको पोल पनि देवकोटाले खोल्नुभएको छ । प्रगतिशील स्रष्टाहरुले अहिलेको न्यायालय र प्रतिनिधि सभालाई वेश्यालय र शौचालय बनाउन उद्यत माकुने प्रचण्ड र असभ्य मुख÷सभामुखलाई चोटिलो व्यङ्य सिर्जना गरे कति जाति हुन्थ्यो ? बेलाको बोली र मौकाको काम कामयावी हुन्छ भनेर बुझ्ने प्रगतिशील स्रष्टा कति होलान ? अँध्यारोको तत्काल प्रतिवाद नगरे झन घना अन्धकार हुन्छ ।

एक नम्बर प्रदेशतिर आफ्नै अग्रज बहुआयामिक स्रष्टाहरुलाई भुत्ल्याउन हत्तेहाल्ने कुटकलुषित मन र मतिका खेम नेपाली स्रष्टा नामका एमाले कार्यकर्ता आकास जस्तो विशाल र विस्तृत पार्टीमा कुखुरे छाती प्रदर्शन गरिरहेका छन । एकाध भ्रष्ट भए पनि एमालेमा जनलहर उर्लदो देखिन्छ । देशैभरि यो लहरले छाएको छ । चामल बेच्न सक्ने सामथ्र्य भएका निष्कलङ्क गुणात्मक नेताहरु अझै भए र हुन सके यसले आन्दोलनले शिखर चुम्ने स्पष्ट देखिन्छ । तर सानातिना कमजोरी औँल्याएर सुधार्न खोज्दा लेखकलाई नै उधार्न उद्यत नेता देख्दा भविष्य कस्तो होला यसै भन्न सकिन्न । देशभरि स्वतःस्फूर्त जनलहर मार्फत यतिका समर्थक र संगठित कार्यकर्ता र नेतालाई व्यवस्थित गर्न एमालेले के गर्नुपर्छ भन्ने सोच विचार गर्न जरुरी देखिन्छ र पार्टीमा आएको जनउभार टिकाउने कुरा महत्वपूर्ण देखिन्छ । कम्तीमा आम रुपमा मैत्री सम्बन्ध विस्तार गरे पनि यस लहरलाई टिकाउन सकिन्छ । कतिपय नेता र कार्यकर्ताका बीच नोकरसाही सम्बन्ध यस लेखकले अनुभूत गरेको छ । यो लेखक आफूले पाएपछि सबैले पाए भनेर बस्न नसक्ने मनुवा परेछ । त्यसैले यो र यतिविधि जनउभारलाई के कसरी स्थापित, सबल र सक्षम पार्ने ? तिनलाई कसरी भौतिकीकरण गर्ने भन्ने सुझाव राख्न खोजिएको हो ।

कामका क्षेत्रहरु अझै धेरै छन र त्यसलाई पहिचान गरेर उपयोग गर्न सकिन्छ । जिल्ला जिल्लामा भ्रष्टाचारविरुद्ध नागरिक समाज सन्जाल तयार गर्न सकिन्छ । सेवा निवृत्त राष्ट्र सेवकहरुलाई आआफ्ना ज्ञान, सीप र बौद्धिक क्षमता अनुसार विभिन्न संस्थान र प्रतिष्ठानहरु स्वेच्छिक स्वयंसेवी भूमिकामा उत्प्रेरित गर्न सकिन्छ, परिचालित गर्न सकिन्छ । पार्टीमा आबद्ध यतिका जनशक्तिलाई श्रमकार्यमा एक दिन परिचालित गर्न सकियो भने श्रममैत्री विकास हुन्थ्यो । किसानका खेतबारीमा पनि यस्तो श्रमशिविर आयोजना गर्न सकिन्छ । यसले ठोस उपलब्धि दिनेछ । पार्टीबाट धन्धुकारी प्रवृत्ति हटेपछि कुनै पनि काम गर्न चाहँदा धेरै दिन त लाग्ने रहेनछ । साक्षरताको महाअभियान सञ्चालन गर्न सकिन्छ । तर माथिल्ला नेताहरु आफैँले आफूलाई सुधार्न सकेनन भने यो अद्भूत जनलहर स्वाट्टै सेलाउन पनि सक्छ, किनभने यो लहर बढी सतही छ, सैद्धान्तिक वैचारिक कम छ ।

उपल्ला तहका नेताहरुमा एक न एक गम्भीर कमी देखिन्छ । कोही शत्रु मित्रु सबैको हुन र देखिन नबिझाउने गरी सदा एकनाशको मीठै बोल्छन तर नाम थाहा भएन भन्छन र सबको प्रिय हुन खोज्छन । कोही सैद्धान्तिक वैचारिक र सांस्कृतिक चेतपरक बौद्धिक बोली बोल्छन तर सेलिब्रेटी बढी देखिन्छन । लेख्ने र पढ्ने मात्र भएर हुन्न । कोही सैद्धान्तिक रुपमा प्रखर छन तर धेरै अन्तर्मुखी छन भाषण गर्न बोलाए जान्छन, नत्र चुपचाचप बस्छन । कोही धेरै नखरा पार्छन तर गुदी कम भन्छन । अर्काथरि प्राविधिक शब्दावली भट्याउँछन श्रोता र सहभागीको स्तर हेरी भाव, भाषा र शैलीविपरीत बोल्छन, र श्रोतालाई वाक्कदिक्क लगाउँछन । जननेता मदन भण्डारीले जहाँ टेके र उभिए पनि बहुआयामिक प्र्रभाव छाड्नु हुन्थ्यो । राजनीति, अर्थनीति र संस्कृति नीतिको आधारभूत तथा बहुआयामिक ज्ञान र प्रभाव पार्ने क्षमता उहाँमा थियो । सिद्धान्त संगठन र सिर्जनाजस्ता त्रिआयामिक क्षमता भण्डारीमा थियो । यस्तो यो जबज अनुसारको उदाहरणीय नेतृत्व तर भण्डारी र ओलीको लामो संगत गरे पनि प्रायः नेताले उहाँहरुका गुण पटक्क सिकेनन । कार्यकर्ताले त्यसैउसै मान गरिदिउन देख्ने बित्तिकै राजाकाजी जस्तो उठेर सलाम बर्साउन भन्ने सोच अब पनि नेताले राखे भने तिनकै कारण पार्टीमा विकर्षणको सम्भावना हुने स्पष्ट छ ।

देश र जनताको उत्थानमा सक्रिय र समर्पित रहने सोच र क्षमता भएका नेतालाई लामो उमेर र अवधि चाहिँदो रहेनछ । जननेता मदन भण्डारीले संसारबाट हराएको र बिलाएको कम्युनिष्ट आन्दोलनको झण्डा नेपालमा छोटै अवधिमा फहराएकाले कम्युनिस्ट नामका चरम अवसरवादी र उग्रवादीले नाङले पसल खोल्न पाएका हुन । ठीक त्यस्तै १५ वर्ष नेतृत्व लिएका माकुनेका अगाडि ओलीको पार्टी र सरकारको कार्यकालमा आकास र पातालको फरक देखियो । शम्भु थापा र टीकाराम भट्टराई थरि ओकिलले अत्यन्त सीमित व्यक्तिहरु जो देश र जनताको भलो गरेको देख्न सक्तैनन्, । आफू राम्रो गर्न नसक्ने अरुले गरेको राम्रो गरेको देख्न नसक्ने केही पेटु ओकिल र प्रधानन्यायाधीश र नागरिक अभियन्ताका नामका केही मानिस आफ्नो आङको भैँसी देख्दैनन । यस्ता फाली चोर र घरफोरहरु सियो चोरको मुद्दालाई बेलुन बनाइरहेका छन् ।

भोलिका दिनमा एमाले र ओलीकै नेतृत्वमा सरकार बन्न सक्ने अवस्था देखेर प्यादाहरुलाई भारी प्रलोभनमा पारेर बाह्य शक्ति न्यायपालिका समेत ध्वस्त पार्न उद्यत छन । लोभका पछि लाग्ने वा हत्तेहाल्ने मानिस कामान्धलेझैँ केही देख्दैन र तिनीहरु आफूले खनेका खाल्टामा परिरहेका छन् । सबै मिलेर गर्नु नगर्नु गरेपछि एउटालाई मात्र दोषी करार गरेर चोखिनखोजेको भद्दा दृश्य सर्वोच्चमा देख्नु परिरहेको छ । लेनदेन र सेटिङका भरमा सिङ्गो सरकार बनाउनेले एक थान मन्त्री बनाउन खोजेको विषय उछालेर आफ्नो क्रूरतम र कृतघ्न अपराधी चरित्र ढापछोप गर्न खोजिरहेका छन् । कुरा सफा छ सर्वोच्च अदलतको बखेडा न्यायालयलाई अझ विकृत बनाउने दुराशयबाट ग्रस्त देखिन्छ । बालुवाटार जग्गा प्रकरण, १४ जना एमालेले कार्यवादी गरेका सभासद् प्रकरण, ज्यानमारा अभियोगी सभामुख प्रकरण, क्यान्टोन्मेन्ट घोटालालगायत विषयलाई आममाफी दिन र दिलाउनका लागि कालोकोटका नाममा पेड मानिस न्यायको मन्दिरमा परेड खेलिरहेका छन र खेलाइएका छन् ।

ओली नेतृत्वको सरकारले गरेका तमाम कामहरु नै यस खालको जनआकर्षणको लहर आएको हो । तमाम जाली झेली फरेवी दुष्प्रचार गरेर केही दिन आम जनतालाई भ्रमित पारे पनि साँचो डग्दैन भन्ने स्पष्ट भयो र आम जनता गुण र गुणीजनको कदर गर्छन् तिनीहरु कृतघ्न हुँदैनन् भन्ने स्पष्ट भयो । कुनै पनि वस्तु र विषयलाई समग्रतामा सुदूरदृष्टिका साथ आत्मसात् गर्नुपर्छ । आग्रह रहित भएर निस्पक्ष र स्वतन्त्र अध्ययन, विश्लेषण, सूक्ष्म निरीक्षणबिना वस्तु, व्यक्तिको चिनारी पनि बोक्रे हुने रहेछ । कुनै पनि नेतालाई उसको घरपरिवार र छरछिमेकबाट राम्ररी चिन्न सकिन्छ । उसको व्यवहारबाट मात्र थाहा हुन्छ ।

कमरेड निर्मल लामा पारदर्शी चरित्रको अत्यन्त इमान्दार हुनुहुँदो रहेछ । वहाँलाई पनि गौरीभक्त प्रधानका भिनाजु वा ज्वाइ नारान नेताले समेत न्याय नगरेका थाहा पाउँदा छक्क परियो । पार्टीको उपल्लै तहमा जात र भात हेरे बरव्यहार गर्ने परिपार्टी अझै घनीभूत देखिन्छ । नेकपा एमाले उन्नत जनवादी तथा लोकतान्त्रिक सिद्धान्त भएको विशिष्ट पार्टी हो । यस पार्टीमा सिद्धान्त अनुसार राजनैतिक व्यवहारका पक्षमा केही कमजोरी अझै विद्यमान छन । तथापि नेपाली राजनीतिक पार्टीहरुका तुलनामा एमाले पार्टीको चरित्र बेठीक भन्न सकिन्न तर जबजले जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्ने जुन विशिष्ट चिन्तन हो, तदनुसार यस पार्टीका अधिकांश नेता र कार्यकर्ताहरुमा पर्याप्त कमजोरी देखिन्छन् ।

जबजको सिद्धान्तको ठीक विपरीत धेरै जसो नेतामा ठालुपना देखिन्छ । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्ष अघि पार्टीमा काम गर्नु अनि अपमान पनि सहनु किमार्थ जाती हुन्न भन्नु भएको थियो । यो कुरा सुन्दा यस तमाम पीडित कार्यकर्ताले आफ्नै पिडा ओलीले भनिदिएको जस्तो लागेकोे थियो तर महाधिवेशन प्रतिनिधि छनौट गर्दा इटहरीबाटै इटहरी उपमहानगरमा जिम्मेवार जनप्रतिनिधिको गैरजिम्मेवार भूमिका निर्वाह गरेकालाई बारबार अवसर दिइयो । एमाले पार्टीका उपल्ला तहका अधिकांश नेतामा मिजासिलो, फरासिलो र आवश्यक हँसिलोपन नै पाइन्न, ठस्स, ठसक्क र टिम्मुरेपारा पाइन्छ ।

विराटनगर तिर यस लेखकले यस क्षेत्रका जिम्मेवार नेताहरुलाई फलाना नेता र कार्यकर्ताको व्यवहार सुधानु पर्छ भन्दा तिनले उहाँको त्यस्तै बानी हो भनेर पन्छिए । अनि आफ्नो बानी व्यहोरा र आफूलाई नै बदल्न नसक्ने र बदल्न नचाहने नेताले माक्र्सवाद र जबज बुझेको ठहर्छ र ? मातहतका नेता र कार्यकर्ताहरुलाई उपल्लो नेताले सुधार्नु पर्ने बानी व्यहोराका बारेमा एकान्तमा पनि सुझाव दिँदा रहेनछन् जस्तो लाग्छ । जनताको स्वैच्छिक समर्थन पाउनु पनि ठूलो क्षमता हो ? सबैमा यस्तो क्षमता हुँदैन तर त्यो भन्दा महान क्षमता उक्त जनलहर जोगाउन सक्नु हो । यसमा भने धेरै जसो नेताका यस्तै पारा र बेहोराले जनताको समुद्र लहर जोगिन्छ भन्ने कुरामा यस लेखकलाई धेरै सन्देह लागेको छ ।