जनता टाइम्स

१३ मंसिर २०७८, सोमबार २३:४७

एमाले महाधिवेशन : अध्यक्षदेखि खुला केन्द्रीय सदस्यसम्मका अन्तिम नामावली सार्वजनिक (सूचीसहित)


चितवन, मंसिर १३ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । सोमबार राती १० बजेपछि नामावली सार्वजनिक गरिएको हो । नामावली सूचीअनुसार तीन पदाधिकारी पदमा चुनाव हुने भएको छ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावल, उपाध्यक्षमा सात जना उम्मेद्वार कायम रहनु भएको छ । उपाध्यक्षमा अध्यक्ष केपी शर्मा ओलीले बन्द शत्रमा प्रस्तुत गर्नुभएको नामावलीलाई चुनौती दिँदै उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य तथा टंक कार्कीले चुनौती दिनुभएपछि चुनाव हुन लागेको हो । त्यसैगरी भुगोल विधाको प्रदेश १ अन्तर्गत खुला र महिलामा १र१ जना, सुदूरपश्चिममा महिलातर्फ २ जना, दलितमा खुलातर्फ १ जना, थारू खुलातर्फ १ जना, पिछडिएको क्षेत्र खुलातर्फ १ जना र समग्र खुला क्षेत्रअन्तर्गत खुलातर्फ १ जनाले सर्वसम्मत नेतृत्व चयनमा चुनौती दिएका छन् ।

यसअघि विधागत गरी प्रारम्भिक नामावलीमा ५० पदमा उम्मेदवारी परेकोमा अन्तिम नामावलीमा १० पदमा उम्मेदवार बाँकी रहेका छन् । अरुले फिर्ता लिएका छन् । नेतृत्वसहित पदाधिकारी चयनका लागि राति २ बजेपछि मतदान सुरु हुनेछ । पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपसचिव भने सर्वसम्मत भएको छ । त्यसैगरी भुगोलमा केही प्रदेश, जनवर्गीय संगठन पनि सर्वसम्मत चयन भएको छ ।