काठमाडौं, मंसिर २६ । गरुंगो मन, मलिन अनुहार अनि, टिल्पिल टिल्पिल आँखा। जति लुकाउन खोजे पनि आफूलाई सम्हाल्न सकिरहनु भएको थिएन । केहीबेर यताउति हेरेपछि रामचन्द्र पौडेलले मुख खोले, ‘अब म राजनीतिक प्रतिस्पर्धामा छैन।’ पौडेलको घोषणापछि बोहोराटारस्थित उहाँको निवासमा शनिबार बिहान केहीबेर सन्नाटा छायो। त्यहाँ उपस्थित नेता, कार्यकर्तालाई पौडेलले भन्नुभयो, ‘हिजोसम्म मैले तपाईंहरूको संरक्षण गरें, अब आफैं गर्नुहोला।’
पार्टीको १४औं महाधिवेशनमा उम्मेदवार बन्न नेताहरूबीच तँछाममछाड, दौडधुप, चलखेल र जोडघटाउ भइरहेका बेला झन्डै ६ दशक कांग्रेसको सक्रिय राजनीति गर्नुभएका वरिष्ठ नेता पौडेल ‘निराशा’ व्यक्त गर्दै हुनुहुन्थ्यो। चित्त दुःखाइरहनु भएको थियो ।
पौडेलको अरूसँग नभै, ‘आफ्नै’ प्यानलका नेताहरूसँग चित्त दुःखाइ थियो, असन्तुष्टि थियो। पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न प्यानलको तर्फबाट साझा उम्मेदवार बनाउनुपर्ने उहाँको प्रस्ताव थियो। सबै मिले आफूले मान्ने, नभए आफूलाई साझा उम्मेदवार बनाउनुपर्ने पौडेलको प्रस्ताव थियो। तर, पौडेलले सोचेजस्तो न साझा उम्मेदवार बन्ने स्थिति बन्यो, न त पौडेललाई नै ‘अन्तिम’ उम्मेदवार बन्ने मौका दिइयो। ‘प्यानल’ भित्रै तँछाडमछाड चलेपछि पौडेलले केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा भाग लिनुभएन, उम्मेदवारी मनोनयन कार्यक्रममा पनि सहभागी हुनुभएन ।
झन्डै ६ दशक सम्पूर्ण जीवन कांग्रेसकै राजनीतिमा समर्पित गर्नुभएका वरिष्ठ नेता पौडेलका लागि पार्टीको ‘फस्ट म्यान’ बन्नका लागि मैदानमा उत्रिने यो ‘अन्तिम’ अवसर थियो। समकालीन देउवा पटक–पटक प्रधानमन्त्री र पार्टी सभापति बनिसक्दा पौडेल जहिल्यै दोस्रो स्थानमै चित्त बुझाउन बाध्य हुनभएको छ।
१४औं महाधिवेशनमा त पौडेललाई आफ्नै टिमका सहयात्रीले साझा उम्मेदवार नमान्ने अड्डी लिए। डा. शशांक कोइराला ‘लचिलो’ बने पनि डा. शेखर कोइराला र प्रकाशमान सिंहले अडान छाडनु भएन, सभापतिमा चुनाव लडने अड्डी कसेर बस्नुभयो। त्यही कारण, पौडेलले सभापतिको उम्मेदवार नबन्ने घोषणा गर्नुभयो। झन्डै ७७ वर्षीय पौडेललाई अव कांग्रेसको नेतृत्वमा आउन समय निकै ढिला हुने आम बिश्लेषण रहेको छ ।
पौडेल यसपटक पनि सभापति नबनेका कारण आगामी दिनमा पार्टी र सरकारमा ‘फस्ट म्यान’ बन्ने सम्भावना अन्त्य भएको उहाँ निकट नेताहरू बताउँछन्। पौडेलले शीर्ष नेताले गरेको त्याग र संघर्ष निरर्थकमा परिणत भएको गुनासो गरिसक्नु भएको छ । उम्मेदवार नबन्ने घोषणापछि पौडेलले प्रेस विज्ञप्ति नै जारी गरी कांग्रेसमा ‘विचलन’ आएको टिप्पणी गर्नुभएको छ ।
‘पार्टीमा संघर्ष, नैतिकता र संस्कारले जुन महत्त्व पाउनुपर्ने हो, त्यो नभएका कारण पौडेलजीमाथि अन्याय भयो,’ पौडेल निकट कांग्रेस नेता मधु आचार्यले भन्नुभयो, ‘राजनीतिक मूल्य र सम्मानको पुँजी खस्कियो।’ झन्डै १३ वर्षको जेलजीवन, लामो त्याग र संघर्षशील पौडेल राजनीतिमा यस्ता ‘अभागी’ पात्र हुन्, जसले कहिल्यै फस्ट म्यान हुने मौका पाउनु भएन । विगतमा गिरिजाप्रसाद कोइराला सभापति हुँदा पौडेल ‘सेकेन्ड म्यान’ भएर काम गर्नुभयो। २०५९ सालमा कांग्रेस विभाजन हुँदा पौडेललाई कांग्रेस प्रजातान्त्रिकको ‘फस्ट म्यान’ बन्ने अफर देउवाले गर्नुभएको थियो । देउवाको प्रस्ताव अस्वीकार गरेर पौडेल कांग्रेसमै बस्नुभयो। २०५१ सालमा सभामुख बनेबाहेक पौडेलले कार्यकारी भूमिका कहिल्यै पाउनु भएन।
तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनपछि उहाँ कार्यवाहक सभापति बन्नुभयो। १३औं महाधिवेशनबाट उहाँ ‘कार्यवाहक’ को फुर्को हटाउन चाहनु हुन्थ्यो तर, देउवासँग पराजित हुनुभयो। त्यसपछि पार्टी र सरकारको नेतृत्व एकल रूपमा देउवाले गर्दै आउनु भएको छ । पौडेलले २०४८ सालमै संसदीय चुनाव जित्नुभएको थियो । २०६२ सालमा पार्टीको महामन्त्री बनिसक्नु भएका पौडेल २०६४ सालमा कांग्रेसको उपसभापति बन्नुभयो। यसबीचमा उपप्रधानसहित मन्त्री बन्ने मौका भने पाउनु भयो।
पञ्चायत विरोधी आन्दोलनका क्रममा पटकपटक गरी १३ वर्ष त उहाँले जेलजीवनै बिताउनु भएको छ । २०६७ सालमा पौडेल पहिलोपटक प्रधानमन्त्रीको उम्मेदवार बन्नुभयो। प्रधानमन्त्रीका लागि संसद्मा १७ पटकसम्म मतदान भयो, पौडेलले बहुमत जुटाउन सक्नुभएन। जति गर्दा पनि परिणाम ननिस्केपछि त्यतिबेला चुनावी प्रक्रिया नै रद्द गरियो र दोस्रो प्रक्रियाबाट तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।
पार्टीभित्र नीतिगत र वैचारिक नेताका रूपमा चिनिन्छन्, पौडेल। १४औं महाधिवेशनको उद्घाटन सत्रमा पनि उहाँले अरूको जस्तो तडकभडक भाषण गर्नुभएन । कांग्रेसलाई कसरी सबल बनाउने, पार्टीको नीति र कार्यक्रम के हुने ? किसानका समस्या कसरी समाधान गर्ने भन्नेमा पौडेलले जोड दिनुभयो। तर आफूलाई भोट पनि माग्नुभएन ।
राजनीतिमा पौडेल ‘चतुर खेलाडी’ मानिँदैनन्। ‘सानो चित्त’ र दाउपेचमा खेल्न नसकेकै कारण पौडेल ‘फस्ट म्यान’ बन्न नसकेको उहाँ निकट नेताहरू बताउँछन्। बीपी कोइरालासँग निकट रहेर काम गर्नुभएका पौडेल सधैं कोइराला निकटै रहेर काम गर्नुभयो। कांग्रेसभित्र पौडेल कहिल्यै पनि गुट नबनाउने नेताका रूपमा चिनिनु भयो। पार्टीमा आफ्नो ‘स्थायी गुट’ नभएकै कारण पौडेलले यसपटक विभिन्न पक्ष जोडिएर बनेको ‘देउवा इतर गुट’बाट साझा उम्मेदवार स्वीकार नगरिएको नेताहरू बताउँछन्। ‘सिद्धान्त, निष्ठा, विचारभन्दा गुटले चाँडो फल दिने रहेछ,’ आचार्य भन्नुहुन्छ, ‘गुटबाहेक अरू नहेर्ने प्रवृत्ति पुरस्कृत भयो।’(अन्नपुर्ण पाष्ट दैनिकबाट)













प्रतिक्रिया दिनुहोस्