जनता टाइम्स

२७ मंसिर २०७८, सोमबार १६:०१

जोसुकैको गठबन्धन बने पनि आगामी निर्वाचनमा देशैभर एमालेले जित्छ : भिम रावल


अछाम, २७ मंसिर । नेकपा (एमाले) का नेता डा. भीम रावलले आगामी निर्वाचनमा देशैभर एमालेले जित्ने बताउनुभएको छ । हिजो गृहजिल्ला अछामको मेल्लेख गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘आगामी निर्वाचनमा पनि नेकपा एमालेको जित सुनिश्चित छ,’ उहाँले भन्नुभयो, ‘अब हामीले पार्टीसंगै देश निर्माणमा समेत निरन्तरता दिनुपर्छ।’

उहाँले आफू राष्ट्रको स्वाधीनता र स्वतन्त्रताको पक्षमा आवाज उठाउदै आएको र त्यो आवाज निरन्तर रहने बताउनुभयो । महाधिवेशनबाट हारे पनि त्यो आवाजबाट आफू विचलित नभएको उहाँले दावी गर्नुभयो ।

यस्तै उहाँले आफूले पार्टी मिलाउनका लागि १० बुदे सहमतिको खाँका तयार गरेर त्यसको कार्यान्वयनका लागि अन्तिम अवस्थासम्म लडेको सुनाउनुभयो । तर, शिर्ष नेताहरुकै कारण पार्टीमा फुटको अवस्था आएको पनि उहाँले बताउनुभयो । रावलले आगामी दिनहरुमा पनि पार्टीमा सकारात्मक तवरले र जनता साथमा रहेर काम गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।