जनता टाइम्स

२७ मंसिर २०७८, सोमबार १७:५७

कमल थापाको घोषणा : राजालाई बोकेर हिड्ने नैतिक धरातल सकियो (पूर्णपाठ)


काठमाडौं, मंसिर २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासमाथि छाननिव गर्न भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाउनु भएको छ । थापाले महाधिवेशनमा पूर्वराजा र निर्मल निवासले गरेको षडयन्त्रमाथि पार्टीले छानविन गर्नुपर्ने माग गर्नुभएको हो ।

थापाले तीन पृष्ठ लामो पत्र पठाउँदै राजसंस्थाको हस्तक्षेपको भत्र्सना गर्दै निष्पक्ष छानविन समिति बनाउन माग गर्नुभएको छ । ‘राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउने चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्नुहोस,’ थापाले भन्नुभएको छ ।

उहाँले पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने राजालाई बोकेर हिँड्ने नैतिक धरातल समाप्त भएको आफ्नो निश्कर्ष पनि पत्रमा उल्लेख गर्नुभएको छ । थापाले भन्नुभएको छ, ‘पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको पछिल्लो कारवाहीले मेरो मूल्य मान्यताको आधार र धरोहर एकैपटक तहसनहस भएको छ । राजा बोकेर हिँड्ने राप्रपाको नैतिक धरातल समाप्त भएको छ ।’