जनता टाइम्स

९ पुष २०७८, शुक्रबार ०७:१७

माओवादी केन्द्रः माथि चहलपहल, तल चिहिलबिहिल


माओवादी सकिदै जानुमा उसले लिएको कार्यनीति र रणनीतिमा देखिने गरेको ठूलो बेमेल नै जिम्मेवार छ । माओवाद बोकेर संसदीय चुनावमा जाने, केही नेतालाई फेरी फेरी मन्त्री बनाउन कम्युनिष्ट सरकार ढालेर काङ्‌ग्रेसको पोल्टामा लुटुपुटु गर्ने, राष्ट्रवादी नेता केपी शर्मा ओलीको तेजोबध गर्न भारतीय खुपिया एजेन्सीसंग साँठगाँठ गर्ने, नेपाली भूमिमा हुर्केको क्रान्तिकारी विचार जनताको बहुदलीय जनवादको नाम पनि सुन्न नचाहने र प्रतिक्रियावादी सत्ता निर्माण गर्न ‘किङ मेकर’ बन्ने प्रचण्डको कार्यनीति माओवादी शक्तिको अन्तिम पराजय अघिको खैलाबैला मात्र हो भन्दा अत्युक्ति हुने छैन

निर्मल भट्टराई

पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशनमा जुटेको छ । ‘रिटायर्ड हुन चाहे पनि साथीहरूले कर गरेको कारण आफूले अध्यक्ष हुन चाहेको’ बताएका प्रचण्डलाई ‘सर्वसम्मत’ अध्यक्ष बनाउन, पार्टीलाई वैधानिक बनाउन, केही पदाधिकारी थप्न र एमालेलाई पुःन एकपटक धारेहात लगाउन काठमाण्डौमा सम्मेलन आयोजना गरे पनि उनीहरूमा कुनै उत्साह देखिंदैन ।

सम्मेलनको अवसरमा कुनै किसिमको शक्ति प्रदर्शन नगर्ने, विदेश र स्वदेशबाट कोही अतिथि नबोलाउने र सुटुक्क सम्मेलन गर्ने निष्कर्षमा माओवादी पुगेको छ । यसो गर्नु उसको रहर होइन, वाध्यता हो । षणयन्त्रको तानावाना वा झुक्किएरै सही, एमालेमा मिसिदा माओवादी सुप्रिमो प्रचण्ड र सबै नेता कार्यकर्ताको ‘बजार भाउ’ ह्वात्तै बढेको थियो । प्रचण्ड सिङ्‌गो कम्युनिष्ट आन्दोलनको मूल नेतृत्वमा पुगेका थिए । तलदेखि माथिसम्म माओवादी कार्यकर्ताको राम्रो राजनीतिक स्पेस बनेको थियो । विगतमा ‘जनयुद्ध’को समयमा गरेको ज्याजती वा उनीहरूले जनतामा देखाएका अनावश्यक र अतिरञ्जित आश्वाशनको कारण जनताबाट तिरष्कृत माओवादी नेता-कार्यकर्ताहरूमा एमालेका नेता-कार्यकर्ता सरह सर्वस्वीकार्य हुदै थिए । प्रतिक्रियावादीको होसहवास उडेको थियो । कम्युनिष्टप्रेमी जनतामा उत्साहै उत्साह थियो ।

तर बल्लबल्ल बनेको एकीकृत कम्युनिष्ट आन्दोलनलाईप्रचण्डले देशीविदेशी प्रतिक्रियावादी शक्तिको उक्साहटमा भत्काउन प्रमुख भूमिका खेले । विगतमा विभिन्न भङ्‌गालामा रहेका कम्युनिष्टहरू एकताबद्ध भएको खुसियाली मनाइ नसक्दै आफू प्रतिक्रियावादी सामेल भएपछि प्रचण्डको पछिलाग्ने नेता- कार्यकर्ताको चिहिलबिहिल शुरू भयो । नेतृत्वको यो किसिमको विचलनबाट सो पङ्‌क्तिमा अभूतपूर्व निराशा पैदा हुनु अस्वभाविक थिएन । उनीहरूलाई कम्युनिष्ट आन्दोलनको ‘महासागर’बाट फेरि प्रचण्डको ‘कुवा’मा फर्कनु पर्दा जीवनकै थक्क थक्क लाग्ने घटना थियो ।

त्यही भएर देशभरका माओवादी कार्यकर्ता सही नेतृत्व, सही विचार र मजबुत सङ्‌गठन भएको एमालेमा प्रवेशको लहर चलेको छ । राजनेता के पी शर्मा ओली र अरू नेताहरूलाई माओवादी नेता-कार्यकर्ता एमालेमा भित्र्याउन भ्याइनभ्याइ छ । देशभरका माओवादी कार्यकर्ताले विचारविहीन, निष्टाविहीन र शैलीविहीन प्रचण्ड त्यागेर जनताको बहुदलीय जनवादी विचार बोकेका, नेपालको कम्युनिष्ट आन्दोलनलाई समाजवादतर्फ डोहोर्यािउने तागत राख्ने र देशको राष्ट्रियता, सार्वभौमिकता जोगाउन देशीविदेशी प्रतिक्रियावादी शक्तिसंग पौंठेजोरी खेल्न सक्ने के पी शर्मा ओलीको नेतृत्व स्वीकारेको अवस्था छ ।

हुन त प्रचण्डको वरिपरि घुमेर सत्ताको रस पाएका केही माओवादी कार्यकर्ता काठमाण्डौमा राष्ट्रिय सम्मेलनको तयारीमा जुटेका देखिन्छन् । एमालेकै हाराहारीमा सङ्गठित सदस्यता नवीकरण भएको नक्कली तथ्याङ्‌कको ढ्वाङ फुकिदैछ । माओवादी पार्टी आगामी चुनावमा सबभन्दा ठूलो पार्टी हुने हावादारी तर्क पनि गरिदैछ । माओवादीको भुँई एमालेले स्वीप गरिरहेको र आगामी निर्वाचनसम्म यो क्रम जारी रहने प्रायः निश्चित हुँदा माओवादी नेतृत्वका यी सबै तर्क, तथ्याङ्‌क र दावी पानीको फोका सरह हुनेछन् । आजभन्दा २५०० वर्ष पहिले चिनियाँ रणनीतिकार सुन चुले भनेका थिए-“कार्यनीतिविनाको रणनीति विजयको लागि सबभन्दा ढिलो बाटो हो भने रणनीतिविनाको कार्यनीति पराजय अगाडिको केवल खैलाबैला मात्र हो ।”

माओवादी सकिदै जानुमा उसले लिएको कार्यनीति र रणनीतिमा देखिने गरेको ठूलो बेमेल नै जिम्मेवार छ । माओवाद बोकेर संसदीय चुनावमा जाने, केही नेतालाई फेरी फेरी मन्त्री बनाउन कम्युनिष्ट सरकार ढालेर काङ्‌ग्रेसको पोल्टामा लुटुपुटु गर्ने, राष्ट्रवादी नेता केपी शर्मा ओलीको तेजोबध गर्न भारतीय खुपिया एजेन्सीसंग साँठगाँठ गर्ने, नेपाली भूमिमा हुर्केको क्रान्तिकारी विचार जनताको बहुदलीय जनवादको नाम पनि सुन्न नचाहने र प्रतिक्रियावादी सत्ता निर्माण गर्न ‘किङ मेकर’ बन्ने प्रचण्डको कार्यनीति माओवादी शक्तिको अन्तिम पराजय अघिको खैलाबैला मात्र हो भन्दा अत्युक्ति हुने छैन ।