अर्घाखाँची, पुस १० । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ९ अर्घामा रहेको काफलपानी पधेराबाट यस क्षेत्रका करीव ५० परिवारले पिउनेपानी प्रयोग गर्छन । करीव तीन वर्षअघि हिउँदमा यो पधेरो सुक्यो । पिउने पानीको स्रोत नै बन्दभएपछि स्थानीयवासी लामो दुरीमा रहेको अर्को पोखरीबाट पानी ल्याउन बाध्य भए । युवा युवतीहरु कम भएको गाउँमा पानी टाढाबाट बोक्न परेपछि स्थानीयलाई निकै सास्ती भयो ।
तर गतवर्ष ठूलो खडेरी लाग्दा पनि पानी नसुकेपछि स्थानीय दंग छन । स्थानीय युवा व्यवसायी कृष्णप्रसाद भुसाल र पत्रकार समेत रहनुभएका व्यवसायी हरिप्रसाद भुसालको नेतृत्वमा शुरु भएको दश घर एक पोखरी अभियानले दुई वर्ष अघि नेटाकापोखरामा पोखरी खनेपछि काफलपानी पधेराको पानी नसुकेपछि स्थानीय दंग बनेका छन । ‘२–३ वर्षअघि सामान्य खडेरीमा पनि सुक्न थालेको पधेरो यो पोखरी खनिएपछि गतवर्ष ठूलो खडेरीमा पनि सुकेन,’ स्थानीय जिवबहादुर दमाइले भन्नुभयो ।
नेटाकापोखरा मात्र होइन, दुई वर्षअघि शुरु भएको दश घर एक पोखरी अभियानले अर्घाखाँची जिल्लाका तीन दर्जन भन्दा बढी स्थानमा साना ठूला पोखरीहरु निर्माण भएका छन । आफुहरुले खनेका पोखरीहरुका कारण धेरै ठाउँमा हिउँदमा पानी नसुकेको अभियन्ता कृष्णप्रसाद भुसालको भनाई छ । त्यतिवेला विभिन्न व्यक्तिहरुको करीव १ लाख सहयोगमा विभिन्न ठाउँमा पोखरीहरु निर्माण गरिएको थियो । बढ्दो जलवायु परिवर्तन रोक्नको लागि सानो सहयोग भए पनि अघि बढाउने अठोटका साथ आफूहरुले अभियान शुरु गरेको भुसालले बताउनु भयो ।

दुई वर्षअघि खनेका पोखरीहरुले खडेरीमा समेत मूल मर्न नदिएको देखेपछि हौसिएका अभियन्ताहरुले गएको एकादशीमा देउसी–भैलो खेल्ने निर्णय गरे । भुसाल दाजुभाईको प्रस्तावमा सहमत जनाउदै लायन्स क्लव अफ अर्घाखाँचीले समेत देउसी–भैलोलाई साथ दिने निर्णय गर्यो । अनि लायन्स क्लव अफ अर्घाखाँची संगको समन्वयमा दश घर एक पोखरी अभियानले करीव १ लाख रुपियाँ जम्मा गर्न सफल भयो । अहिले यही पैसाबाट पोखरीहरु निर्माण भइरहेका छन ।
देउसी–भैलोबाट संकलन भएको रकममध्येबाट करीव ५० हजारको लागतमा चारओठा ठूला र एउटा साना पोखरी निर्माण गरिएको छ भने अन्य स्थानको खोजी भैरहेको अभियन्ता हरिप्रसाद भुसालले बताउनु भयो । ‘अग्लो ठाउँमा रहेका र स्थानीय सरकारहरुको ध्यान नपुगेका लोपुन्मुख पोखरीहरु हामीले खनिरहेका छौं,’ भुसालले भन्नुभयो, ‘हामीले खनेका पोखरीहरुका कारण हिउँदमा मुलहरु सर्सिउन भन्ने हाम्रो एकमात्र चाहना हो ।’

विकासको क्रममा बाटो, खेल मैदान, अनि संरचनाहरु निर्माण हुँदा धेरै ठाउँमा पोखरीहरु पुरिएको र पोखरीहरु पुरिएकै कारण अर्घाखाँचीमा पानीको समस्या झन बढेको निष्कर्षसहित भुसाल बन्धुहरुले दशघर एक पोखरी अभियानको कल्पना गर्नुभएको थियो । ‘शुरुशुरुमा त सरकारी पैसा खाने यिनीहरुको मेसो हो भन्ने बुझाई थियो । पैसा नखाई यिनीहरु किन कुद्थे पनि भन्ने गरेका थिए,’ नेपाल हर्ट फउन्डेसनका अध्यक्षसमेत रहेका अभियन्ता कृष्ण भुसालले भन्नुभयो, ‘पछिल्लो समय स्थानीयहरुले पनि कुरा बुझ्नुभएको छ, उत्साहजनक साथ पाएका छौं ।’
स्थानीय जनताबाट सद्भाव र सहयोग प्राप्त भएपनि सरकारी तहबाट कुनै सहयोग नपाएको भुसालले बताउनु भयो । ‘ठ्याक्कै हामीलाई नै सहयोग आओस भन्ने हाम्रो आशय र चाहना हैन, कमसेकम स्थानीय सरकारहरुबाट वडावडामा अभियानकै रुपमा पोखरीहरु निर्माण गरिए हाम्रो सपना पुरा हुन्थ्यो । यसरी स्थानीय सरकारहरु अगाडि बढे हामीले सहयोग गर्ने थियौं,’ भुसालले भन्नुभयो ।

दश घर एक पोखरी अभियानको विषयमा आफूले पनि सुनेको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुरकुमार विकले बताउनु भयो । ‘उहाँहरुसँग सहकार्यको अवस्था त वनिसकेको छैन तर रिचार्ज पोखरी निर्माणमा हामीले शुरुदेखि नै काम गरिरहेका छौं,’ विकले भन्नुभयोे । आफुहरु निर्वाचित भएको पहिलो वर्ष नै हरेक वडाहरुमा रिचार्ज पोखरी निर्माणको लागि एक एक लाख विनियोजन गरी काम सम्पन्न गरिएको जानकारी पनि उपप्रमुख विकले दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्