जनता टाइम्स

११ पुष २०७८, आईतवार ०७:०६

देउवाले शेरखमाथि लिए बदला, बरियतामा सुनिल थापा भन्दा तल


काठमाडौं, पुस ११ । नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाले आफूसँग सभापतिमा चुनाव लडेर उपबिजेता बन्नुभएका डा. शेखर कोइरालालाई राप्रपाबाट भिब्याइएका सुनिल थापा भन्दा तलको बरियता तोक्नु भएको छ । सभापति देउवाले महाधिवेशनबाट निर्वाचित पहिलो केन्द्रीय समिति बैठकमा नेताहरूको वरियता क्रम तोक्नु भएको हो ।

विधानअनुसार सभापतिलाई वरियता तोक्ने अधिकार हुन्छ। वरियतामा देउवा पहिलो, रामचन्द्र पौडेल दोस्रो र कृष्ण सिटौला तेस्रो स्थानमा हुनुहुन्छ। पार्टी सदस्यता लिएको आधारमा पौडेल र सिटौलालाई वरियतामा राखिएको हो। उहाँहरूलाई केन्द्रीय समितिमा देउवाले मनोनित गर्न नै बाँकी छ।

त्यसपछिको वरियतामा पदाधिकारीहरू रहेका छन्। कांग्रेसमा सभापतिसहित १३ जना पदाधिकारी छन । त्यसपछि अन्य दुई नेतापछि मात्रै २० नम्बरमा शेखर कोइरालालाई राखिएको छ। अहिलेका निर्वाचित पदाधिकारी र पूर्वपदाधिकारीपछि उहाँको नाम राखिएको हो। केन्द्रीय सदस्यको पहिलो नाम उहाँको नामबाटै सुरू हुन्छ। देउवासँग कोइराला सभापतिमा पराजित हुनुभएको थियो । सभापतिमा पराजित हुने तर धेरै मत ल्याउने उम्मेदवार स्वतः केन्द्रीय सदस्य हुने प्रावधान छ।

वरियतामा धेरै पछाडि राख्ने थाहा पाएपछि कोइराला शनिबारको केन्द्रीय समिति बैठक र प्रमाणपत्र वितरण समारोहमा सहभागी नभएको बताइएको छ। स्रोतका अनुसार देउवाले राप्रपाबाट भित्र्याइएको सुनिल थापालाई अगाडि राखिएको छ ।